लण्डन । करिब एक सातादेखि तुवाँलोकोका कारण खराब बनेको नेपालको मौसम अझै सफा हुन सकेको छैन । जल तथा मौसम विभागका अनुसार मौसम खुल्न अझै केही दिन लाग्नेछ ।
वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको विभागले जनाएको छ ।हाल मुलुकका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कणहरु छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तुवाँलो लागेको हो ।
देशका अधिकांश जिल्लाका धेरै स्थानमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागद्वरा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
सहरी क्षेत्रमा तुवाँलोको मात्रा अत्यधिक छ । जसले गर्दा जनजीवन असामान्य छ,बिधालयहरू पनि बन्द छन् ।
आगामी दिनमा मौसम थोरै चलायमान हुने देखिए पनि तुवाँलो अवस्था के कस्तो हुने हो भन्नेबारे डढेलोको अवस्थामा निर्भर रहने विभागको भनाइ छ ।
जलवायु प्रारूपहरुले मार्च, अप्रिल र मे महिनामा नेपालमा औसत तापक्रम सरदरभन्दा बढी हुनसक्ने सम्भावना ६० देखि ८० प्रतिशत रहेको तथा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४० देखि ६० प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ ।






