केन्याका विदेशी विद्यार्थी स्वदेश फर्किए

केन्या, २९ चैत । केन्याली एक विश्वविद्यालयमा भएको आक्रमणमा परी सयभन्दा बढी विद्यार्थीको ज्यान गएपछि राजधानी नैरोबीका विभिन्न विश्वविद्यालयमा अध्ययनरत् विदेशी विद्यार्थी स्वदेश फर्किएको समाचार छ । विशेषगरी राजधानी केन्यामा अध्ययनरत् सयौँ विदेशी विद्यार्थी आ–आफ्नो घर फर्किएका बताइएको छ । त्यहाँ हुनसक्ने थप आक्रमणको त्रासमा उनीहरू स्वदेश फर्किको बताइएको छ ।
उनीहरूमध्ये कतिपयलाई सम्बन्धित देशले नै स्वदेश फर्काएको समाचारमा जनाइएको छ । सो समाचारको केन्याली सुरक्षा निकायले पुष्टि गरेका छन् । सुरक्षा अधिकारीहरूले नैरोबीका साथै उक्त हमला भएको गरिसा नगरमा रहेका अधिकांश विद्यार्थीलाई स्वदेश फर्काइएको जनाएका छन् ।
केन्याको एक क्याम्पसमा एक हप्ताअघि आत्मघाती र हतियारधारीले गरेको आक्रमणमा परी १४७ विद्यार्थी मारिएका छन् । सोमालियाली अल सेबाबका हतियारधारीहरूले आक्रमण गरेका थिए । केन्याको उत्तरपूर्वी नगर गारिसामा रहेको एक विश्वविद्यालयमा उनीहरूले सो हमला गरेका हुन् । आक्रमणको जिम्मा सोमालियाली आतङ्ककारी समूह अल सेबाबले लिइसकेको छ ।