लन्डन– एनआरएन यूकेको सातौं अधिवेशनका लागि आज शनिबार उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवारी दर्ताका लागि शनिबार बिहान १० बजेदेखि ३ बजेसम्म समय तोकिएको छ । निर्वाचन समितिका अनुसार उम्मेदवारहरुको पहिलो नामावली आज साँझ ५ बजे नै सार्वजनिक गर्ने कार्यक्रम छ ।
उम्मेदवारहरुको नाममा दाबी विरोधका लागि २८ तारिख सोमबार बिहान ११ बजेसम्मको समय छुट्टयाइएको छ । सोही दिन दिउँसो १ बजे उम्मेदवारहरुको अन्तिम नामावली निकालिनेछ । उम्मेदवारी दर्ता गराउनका लागि अध्यक्षका उम्मेदवारहरुलाई ११ सय ५० पाउण्डको शुल्क लाग्नेछ । आईसीसी सदस्यका लागि पनि अध्यक्षकै बराबरको ११ सय ५० र सचिवालय सञ्चालनको लागि भन्दै थप ५ सय डलर समेत शुल्क तोकिएको छ ।
त्यसैगरी सबै ६ उपाध्यक्ष र महासचिवको उम्मेदवारका लागि ८ सय ५० पाउण्डको उम्मेदवारी शुल्क छ भने उपमहासचिवको लागि ७ सय पाउण्ड । सचिव, कोषाध्यक्ष, सहकोषध्यक्षका साथै युवा संयोजक र महिला संयोजकका लागि ६ सय ५० पाउण्डको शुल्क कायम गरिएको छ । सदस्यहरुका लागि ३ सय ५० पाउण्ड लाग्नेछ ।
एनआरएन यूकेको सातौं कार्यसमिति चयन गर्नका लागि आगामी सेप्टेम्बर ९ तारिखका दिन बिहान ८ देखि ३ बजेसम्म निर्वाचनको कार्यक्रम छ ।






