लन्डन । लन्डनस्थित नेपाली समुदायमा सक्रिय सामाजिक अभियन्ता उमेशराज मोक्तान ब्रेन्ट लेवर पार्टीको ब्ल्याक एशियन एन्ड माइनारीटि इथनिक कमिटिको उपाध्यक्ष पदमा निर्विरोध चयन भएका छन् । गत २५ फेब्रुअरीमा भएकोे साधारण सभाले उनलाई उक्त महत्वपूर्ण पदको जिम्मेवारी सुम्पिएको हो ।
कमिटिमा अफ्रिकी मूलकी ब्रेन्ट काउन्सिलर बिलमेनिया मिचेल मुरे अध्यक्षमा निर्वाचित भएकी छिन् भने महासचिवमा भारत मूलकी ब्रेन्ट काउन्सिलर अनिता ठक्कर, कोषाध्यक्षमा श्रीलंका मूलका ब्रेन्ट काउन्सिलर काना नहिराथन, अन्य दुई अडिटर तथा ४ जना सदस्यमा अन्य देशका व्यक्तिहरु चयन भएका छन्।अल्पसंख्यक समुदायहरुलाई बेलायती राजनीतिमा प्रतिनिधित्व गराउने उद्धेश्य सहित सन् १९९० मा बिएएमई स्थापना गरिएको थियो ।
यस कमिटिमा उपाध्यक्ष पदमा निर्वाचित हुने मोक्तान ब्रेन्ट लण्डनका पहिलो व्यक्ति हुन् । मोक्तान हाल प्रेस्टन वार्डको लेवर पार्टीका संयोजक छन् भने अल्पर्टन वार्ड ब्रेन्ट काउन्सिलको हेल्थ एन्ड वेलबिङ्ग कम्युनिटी च्याम्पियनका रुपमा कार्यरत छन् । विगत २० बर्षदेखि नेपाली समुदायमा समाजसेवा गर्दै आएका मोक्तान धेरै नेपाली संघसंस्थाका अध्यक्ष पद सम्हालिसकेका अनुभवी व्यक्ति हुन् । नेपाल र नेपालीका लागि धेरै च्यारीटि कार्यक्रम आयोजना गरि दुःखी गरिबको पेट भर्ने काममा उनको ठूलो देन छ ।मोक्तान यति नेपाली एसोसियसन यूके र एनआरएनए यूके जस्ता प्रतिष्ठित संस्थाका सल्लाहकार, धरान समाज यूकेका पूर्व अध्यक्ष छन् ।
लण्डन नेपाल न्यूजसँग कुरा गर्दै उनले भने, ‘बेलायतको नेतृत्वदायी भूमिकामा आफूलाई पाउँदा निकै हर्षित छु, पद सम्हालेरै काम गर्न पाउँदा अझै बढी हौसला र उर्जा मिलेको छ ।’ आफूलाई तोकिएको जिम्मेवारी विशिष्टकृत तरिकाले वहन गर्ने उनले प्रतिबद्धता जनाए ।पछिल्लो समय बेलायतको नेतृत्वदायक भूमिका नेपाली समुदायका मानिसहरुको संलग्नता बढ्दो छ । बिएएमईमा निर्वाचित भएपछि मोक्तानले अल्पसंख्यक समुदायको आवाज बुलन्द हुने गरी प्रतिनिधित्व गर्ने बताए ।






