नेपालमा दुईदिनमा २८ हजार बढीले लगाए कोभिड खोप

काठमाडौँ । खोप अभियानको दोस्रो दिन देशभर २८ हजारभन्दा बढीले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहिबार ७७ जिल्लामा कुल २८ हजार ७३२ जनाले खोप लगाएका हुन् ।

जसअन्तर्गत प्रदेश १ मा ३ हजार ८ सय ४७, प्रदेश २ मा २ हजार १ सय ७४, वाग्मती प्रदेश मा ११ हजार ४ सय ६१, गण्डकी प्रदेशमा ४ हजार ८५३, लुम्बिनी प्रदेशमा २ हजार ३ सय ३, कर्णाली प्रदेशमा १ हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १७ जनाले खोप लगाएका छन् ।

खोप पाएका व्यक्तिहरुमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । खोपको पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका थिए ।

बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत देशभरका ३०० खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिहरुलाई खोप लगाउने सरकारको लक्ष्य छ ।