लण्डन । नेपाल सरकारले बेलायतमा कोरोनाभाइरस महामारीको नयाँ भेरियन्ट देखिएसँगै लगाएको हवाइ उडान प्रतिबन्ध हटाएको छ ।
लण्डन स्थित नेपाली दूतावासले बिहीबार एक सूचना जारी गर्दै यूके, आयरल्याण्ड र माल्टाबाट नेपाल उडान गर्न अनुमति दिएको जनाएको हो ।
तर त्यसको निम्ती कोरोनाभाइरस नियन्त्रण गर्न तोकिएका आवश्यक शर्तहरु भने पालना गर्नुपर्ने छ ।
यात्रा गर्नुअघि ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट, नेपालमा गएर होटेल क्वारेन्टिन् बस्नका लागि होटेल बुक गरेको प्रमाण पेश गर्नुपर्नेछ ।
साथै, यात्रापूर्व आफ्नो यात्राबारेको विवरण लन्डनस्थित नेपाली दूतावासलाई पठाउनुपर्नेछ । त्यस्तै, नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको वेबसाइटमा उपलब्ध अनलाइन फाराम अनिवार्य रुपमा भरी सोको बारकोड प्रिन्ट गरी साथै लिएर जानुपर्नेछ ।
यूकेमा कोरोनाको नयाँ भेरियन्ट देखा परेपछि डिसेम्बर तेस्रो सातादेखि नेपाल प्रवेशमा रोक लगाइएको थियो ।
हेर्नुहोस लण्डन स्थित नेपाली दूतावासले जारी गरेको सूचना ।







