लण्डन । बेलायतको मिल्टन किन्सस्थित ‘एम–१’ सडकमा एक मिनी बस र दुई लरी ठोक्किँदा ८ जनाको मृत्यु भएको छ । मृतकहरू सबै बसका यात्रु रहेका छन् । घटनामा घाइते ४ जनाको अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले लरी चालकलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएका छन् ।
उनीहरूमध्ये एकले मदिरा सेवन गरेको प्रहरीले जनाएको छ । उनीहरूले लापरबाही तरिकाले लरी चलाएको भन्दै सोधपुछ गरिएको छ । थेम्स उपत्यका प्रहरीका अनुसार उनीहरू ३१ र ५३ वर्षका हुन् । दुर्घटना हुने सवारीहरू सबै एकै दिशातर्फ गइरहेका थिए । दुर्घटनापछि केही घण्टा उक्त क्षेत्रको सवारी आवागमन बन्द गरिएको थियो ।
प्रहरीमाथि चक्कु प्रहार
बेलायतको लन्डनस्थित बकिङघम दरबारनजिकै एक युवकले चक्कु प्रहार गरी २ जना प्रहरीलाई घाइते बनाएका छन् । युवकले प्रहरीको गाडी नजिकै कार रोकेर चक्कु प्रहार गर्दा २ प्रहरी घाइते भएका हुन् । घटनामा आतंकारीको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






