विज्ञ सम्मेलन गर्न पाउँदा हामी अत्यन्तै उत्साहित र खुसी छौ : कुमार पन्त

गैरआवासीय नेपाली संघ (एनआरएनए ) को आयोजनामा पहिलो पटक यही अक्टोवर १२ देखि १४ सम्म काठमाडौंमा विज्ञ सम्मेलन हुँदैछ । विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीको ज्ञान, सिप, प्रविधि र अनुभव भित्र्याउने उद्देश्यले आयोजना गरिन लागिएको सम्मेलनको सहआयोजक नेपाल सरकार रहेको छ । सरकारले आर्थिक सम्मृद्धिका एजेन्डा अगाडि बढाउँदै ‘सम्मृद्ध नेपाल,सुखी नेपाली’ नारा अगाडि सारिरहेको अवस्थामा विज्ञ सम्मेलन नेपालको आर्थिक सम्मृद्धिमा कोशेढुंगा शावित हुने अनुमान गरिएको छ । विश्वभर रहेका एनआरएनका एनसिसी प्रतिनिधि, विज्ञ, बृद्धिजीवी गरि करिव पाँच सयको सहभागिता रहने सम्मेलनले नेपालमा विदेशी लगानीसँगैै विदेशी ज्ञान, सिप र प्रविधि हस्तान्तरणमा सहयोगी बन्ने अपेक्षा गरिएको छ । सम्मेलनकै अवसरमा गैरआवासीय नेपाली संघको विधान सभासमेत आयोजना गरिदैंछ । साथै एनआरएनले आफनो स्थापना दिवसको अवसर पारेर साताब्यापी कार्यक्रमसमेत शूरु गरेको छ । ‘एनआरएन डे’ को अवसरमा एनआरएनले सञ्चालन गर्दै आइरहेको मेगा प्रोजेक्ट सरकारलाई हस्तान्तरण गर्दैछ । एनआरएन विज्ञ सम्मेलन, विधान सभा, एनआरएन डे, मेगा प्रोजेक्ट हस्तान्तरणलगायतका एनआरएनका विविध विषयमा हामीले गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष एवं विज्ञ सम्मेलनका संयोजक कुमार पन्तसँग विशेष कुराकानी गरेका छौ । प्रस्तुत छ, संयोजक पन्तसँग किरण बुढाथोकीले गर्नुभएको कुराकानीको सम्पादीत अंश ;

यही अक्टोवर १२ देखि १४ सम्म काठमाडौंमा विज्ञ सम्मेलन आयोजना गर्दै हुनुहुन्छ । सम्मेलनको तयारी कस्तो छ ?

विश्वभर रहेका गैरआवासीय नेपालीहरु सम्मेलनको लागि आउने क्रम जारी छ । आयोजकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी पूरा गरिसकेका छौ । आजसम्म सम्मेलनमा ३ सय ५० जनाले रजिष्टेशन दर्ता गरिसक्नु भएको छ । सम्मेलनसँगै एनआरए डे पनि परेकाले विश्वभरबाट स्थापना दिवससमेत मनाउने तयारीका साथ निकै उत्सुकतापूर्वक सहभागि जनाइरहनु भएको छ । समग्रमा भन्नुपर्दा सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । सम्मेलन सम्पन्न गर्न हामी निकै आत्तुर र उत्साहीत बनेका छौ ।

पहिलो पटक हुन गइरहेको सम्मेलनको पूर्व सन्ध्यानमा विज्ञ सम्मेलन तयारीस्वस्स्प विभिन्न क्षेत्रमा तयारी सम्मेलन सम्पन्न गरिसकेका छौ । जस्तो अमेरिकाज्, यूरोप, मध्य पूर्व र ओसियान क्षेत्रमा सम्मेलनको तयारीस्वस्प सम्मेलन आयोजना सम्पन्न गर्यौ । त्यस क्षेत्रमा भएका विज्ञ भेलाबाट घोषणापत्रसमेत जारी भएका छन् । जसले काठमाडौंमा हुने विज्ञ सम्मेलनलाई सफल र फलदायी बनाउन थप सहयोग मिलेको छ । साथै एनआरएनमा विभिन्न एनसिसीहरुमा समेत विज्ञ सम्मेलनको विषयमा छलफल चलाउन र आवश्यक सुझाव पेश गर्न अनुरोध गरिएको छ । त्यसैअनुरुप सम्मेलनको तयारी भएको छ ।

पहिलो पटक विज्ञ सम्मेलन गर्दैहुनुहुन्छ, विज्ञ सम्मेलन गर्नुको मुख्य उद्देश्य के हो ? विज्ञ सम्मेलनकै आवश्यकता किन देख्नुभयो ?

नेपालीहरु डायस्पोरा जान थालेको २५ वर्षको अवधिमा विदेशमा बसेका नेपालीहरुले त्यहाँबाट विभिन्न खालका ज्ञान, सिप, अनुभव र प्रविधि सिक्नुभएको छ । कुनै पनि देशको आर्थिक सम्मृद्धिको लागि पूँजीसँगै ज्ञान, सिप र प्रविधिको उत्तीकै आवश्यकता पर्छ । हो, हामीले पूँजीसँगै विदेशमा बस्ने नेपालीले हासिल गरेको ज्ञान, सिप र प्रविधि स्वदेशमा हस्तान्तरण गर्न सकेको खण्डमा त्यसले आर्थिक सम्मृद्धिमा सघाउ पुग्नेछ भन्ने नै हो । मुलुकमा पनि पहिलो पटक दुई तिहाई प्राप्त सरकार छ । सरकारले समेत आर्थिक सम्मृद्धिको लागी सम्मृद्ध नेपाल, सुखी नेपाली भन्ने नारा अगाडि बढाइरहेको अवस्था छ । सो अभियानलाई सघाउ पुर्याउन विज्ञ सम्मेलनकै महसुस गरेका हौ । साथै विदेशमा बसेर नेपाली दाजुभाई दिदीबहिनीले सिकेको ज्ञान, सीप र प्रविधिको नेपाल सुहाँउदो प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा ठोस् निष्कर्ष निकाल्ने र सोही अनुसारको नीति निर्माणमा सरकारको ध्यानाकर्षण गराउने हाम्रो उद्देश्य हो ।

नेपालमा विद्यमान नीति के कस्ता छन, विश्वमा के कस्ता नीति अभ्यासमा छन् र तिनीहरुलाई नेपालको परिपेक्ष्यमा कसरी सान्दर्भिक बनाउने भन्नेमा हाम्रो विशेष जोड रहनेछ । राष्ट्रले कल्पना गरेको ‘समृद्ध नेपाल’ निर्माण गर्नका लागि दक्ष गैरआवासीय नेपालीहरुको पहिचान गर्दै उनीहरुको ज्ञान र सीपलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्नेबारे पनि सम्मेलन केन्द्रित रहनेछ । सम्मेलनमार्फत समृद्ध नेपाल निर्माणका लागि आवश्यक जनशक्तिदेखि ज्ञान र सीप हामीसँग पर्याप्त छ कि छैन भन्ने विषयलाई पनि प्रष्ट पार्न चाहान्छौँ र ‘समृद्ध नेपाल’ बनाउन इँटा थप्न सहयोगी भुमिका निर्वाह गर्नेछ ।

नेपालको आर्थिक सम्मृद्धिमा पूँजीसँगै ज्ञान, सिप, प्रविधि, अनुभव हस्तान्तरण गर्ने भनीरहँदा कुन क्षेत्रमा कसरी लगानी भित्याउँदै हुनुहुन्छ ? के एनआरएनबाट नेपालमा लगानी भित्र्याउन सम्भव होला ?

पक्कै पनि । जस्तो तपाईले एनआरएनको इतिहास हेर्नु भयो भने स्पष्ट हुन्छ । एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महत्तोले ठूलो लगानीमा अन्तारष्ट्रियस्तरको अस्पताल खोल्नु भएको छ । पूर्वअध्यक्ष जीवा लामिछानेको सानीमा बैठकमा लगानी छ भने निवर्तमान अध्यक्ष शेष घलेको फाइभ स्टार होटल बन्दैछ । यो त उदाहरण मात्र भयो । नेपालमा धेरै गैरआवासीय नेपालीको ठूलो लगानी छ । त्यसैले अहिले हुन लागेको विज्ञ सम्मेलनले यो लगानीलाई कसरी देशको आवश्यकताअनुसार सिप र प्रविधि भित्र्याएर सरकारसँग सहकार्य गर्दै आर्थिक सम्मृद्धिमा टेवा पुरयाउने भन्ने नै हो । त्यसैले सम्मेलनबाट नेपालको आर्थिक सम्मृद्धिको लागि ज्ञान, सिप, प्रविधि हस्तान्तणसँगै हामीले यसअघि नै घोषणा गरिसकेको लगानीको टुंगो लगाउनेछौ । यसअघि एनआरएनमार्फत करिव १० अर्ब लगानी भित्र्याउने, त्यसमा सरकारको १० प्रतिशत हुने भनेर घोषणा गरिसकेका छौ । नेपाल सरकार र एनआरएन मिलेर संयुक्त लगानी गर्नेछौ । यस विषयमा अर्थमन्त्रीसँगै मौखिम सहमतीसमेत भईसकेको छ । नेपालको आर्थिक सम्मृद्धिको लागि विज्ञ सम्मेलन सम्पन्न गरेसँगै १५ अक्टोवरमा समझदारी बैठक गरि कुन कुन क्षेत्रमा कस्तो खालको के कती लगानी गर्ने भन्ने विषयमा टुंगो लगाउनेछौ ।

सम्मेलनमा कस्ता विषयवस्तुलाई समेट्नु भएको छ ? कुन–कुन क्षेत्रलाई प्राथमिकता दिएर छलफल गर्दै हुनुहुन्छ ?

नेपालभित्र र बाहिरका विज्ञहरुको एउटा कार्यक्रम कमिटी बनाएका छौँ । यही कार्यक्रम कमिटिले छनोट गरेका विज्ञहरुको केही कार्यपत्रहरु छन् भने खुला रुपमा पनि शोधपत्र मागेका छौँ । यी कार्यपत्रहरुको रिभ्यु प्रोग्राम कमिटीले गर्छ र छनोट गर्छ । हामीलाई करिब १५० कार्यपत्र प्राप्त भएका छन् भने थप ५० जना प्यानलिष्ट हुनुहुनेछ । अन्य सहभागी सहित करिब ४ सय जनाले भाग लिनेछन् ।

पहिलो दिन उद्घटान कार्यक्रम हुने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रम उद्घाटन गर्नुहुनेछ । दोश्रो दिन चारवटा प्लेनरी सत्र आयोजना गरिनेछ । पहिले सत्रमा नेपालको विज्ञान तथा प्रविधीको नीति, प्राविधिक जनशक्तिको अवस्था लगायत विषयमा छलफल हुनेछ । दोश्रो सत्रमा ज्ञानमा आधारित आर्थिक विकास र देशले लिने आर्थिक विकासको बाटोका बारेमा छलफल हुनेछ । तेश्रो सत्रमा नेपाललाई उपयुक्त हुने नयाँ प्रविधीको संभावना र यस क्षेत्रमा लगानी बिषयमा छलफल हुनेछ । साथै नेपालको विकासको नीति निर्माणमा डायस्पोराको कस्तो भुमिका हुन्छ भन्ने बिषयमा केन्द्रित सत्रहरु पनि समावेश गरिनेछ । दोश्रो दिन कृषि स्वास्थ्य, शिक्षा, भौतिक विकास तथा ईन्जिनियरीङ, वैकल्पिक उर्जा, विज्ञान तथा प्रविधी, जोखिम न्यूनिकरण, वातावरणीय प्रदुषणदेखि लिएर फाईनान्सियल रेफर्म, सामाजिक सुरक्षा लगायतका समानान्तर सत्रहरु रहनेछन् । तेश्रो दिनको कार्यक्रममा आमन्त्रितको मात्र सहभागीता हुनेछ, त्यहाँ हामीले सम्मेलनको समिक्षा, निष्कर्ष र भविष्यको रणनीति तयार गर्नेछौँ । सोही दिन नेपाल सरकारका विभिन्न निकाय र विज्ञहरुबीच पनि छलफल र परामर्श हुनेछ ।

आगामी दिनमा विज्ञ सम्मेलनबाट घोषणा भएका विषयवस्तुलाई कार्यान्वयनमा लग्न कसरी अगाडि बढ्नुहुन्छ ? कतै सम्मेलनका निष्कर्ष कागजमै सिमित हुने त होइनन ? 

सही प्रश्न गर्नुभयो । सम्मेलनको विषयमा हामीले अली गहिरो गरि सोच विचार गरेका छौ । सम्मेलन एक पटक गर्ने अनी कागजपत्र दराजमा थन्काएर राख्ने भन्ने उद्देश्य हाम्रो होइन । यो सम्मेलनको मुख्य उद्देश्य नै विदेशमा बसोबास गर्ने नेपालीको ज्ञान, सिप र प्रविधि हस्तान्तरण गर्ने भएकाले नेपालको आर्थिक सम्मृद्धिमा आवश्यकताअनुसार नियमित रुपमा उपयोग गर्न सकिन्छ । यसअघिको घोषणाअनुसार नै विज्ञ सम्मेलन दुई दुई वर्षमा हुनेछ । अहिले तत्काल लै नेपालीको ज्ञानको भण्डार के हो ? भन्नेबारे पहिचान पनि भई नसकेको अवस्थामा यस सम्मेलनबाट उनीहरुको स्किल डाईरेक्ट्री बनाउने छौ  ताकी राष्ट्रले आवश्यकता अनुसार उनीहरुलाई सदुपयोग गर्न सकोस् । साथै सम्मेलन प्रत्येक २ वर्षमा गर्ने पूर्वघोषित निर्णयअनुसार भविष्यमा नेपाल सरकारको प्राथमिकतामा रहेका निश्चित विषयमा मात्र केन्द्रित रहेर आयोजना गर्ने योजना छन् ।

सम्मेलनमा सहभागिता कस्तो छ र को -कसको सहभागिता रहनेछ ?

पहिलो पटक विज्ञ सम्मेलन गर्न गइरहेकाले तपाईले भन्नुभएजस्तै सहभागिता कस्तो रहला भन्ने निकै कौतुहल्ता, चिन्ता र चासो थियो । तर आजसम्म सहभागिको संख्या हेर्दा हामी निकै उत्साहीत र खुसी छौ । सम्मेलन आयोजना गर्ने घोषणा गरिरहँदा धेरै ठाउँमा स्वागत र सद्भाव पाएपनि पहिलो सम्मेलन भएकाले के कस्तो हुने हो भन्ने चासो हुनु पनि स्वभावीक थियो । तर सम्मेलनको पूर्वसन्ध्यामा निकै चासो बढेको छ । विश्वभरबाट विज्ञ सम्मेलनको बहस सामाजिक सञ्जालदेखि सबैतीर चलेको छ । यसले थप उत्साहीत तुल्याएको छ । सम्मेलनमा आजसम्म ३ सय ५० भन्दा बढीको सहभागिताको लागि रजिष्टेशन दर्ता भइसकेको छ । सम्मेलनमा नेपाल भित्र र बाहिर कार्यरत विज्ञहरु, नेपालको बारेमा चासो राख्ने विदेशी विज्ञहरु, नेपाल सरकारका नीति निर्माता, स्वतन्त्र वुद्धिजीवि, नेपालको निजी क्षेत्र, नेपालस्थित कुटनीतिज्ञ लगायत सबै क्षेत्रका विज्ञको सहभागिता रहनेछ । ‘रिसर्च एण्ड डेभलेपोमेन्ट’ सँग जोडिएका विज्ञ, अनुसन्धान संस्था र विश्व विद्यालयहरुका विज्ञहरुलाई हामीले आमन्त्रण गरेका छौँ । साथै यो सम्मेलन सर्वसाधरणका लागि पनि खुला गरिएको छ ।

सम्मेलनमा कस्ता खालका विज्ञहरुको सहभागिता रहनेछ ? विदेशीहरु पनि सहभागि हुनुहन्छ कि ?

ज्ञान, सीप र प्रविधिका क्षेत्रमा अनुभव भएका अथवा सो क्षेत्रमा नयाँ बिचार दिन सक्ने दक्ष, प्राज्ञिक सबै खालका व्यक्तित्वहरुले सम्मेलनमा सहभागिता जनाउनुहुनेछ । सम्मेलनमा सहभागी हुन विश्वविद्यालयबाट डिग्री नै लिनुपर्छ भन्ने छैन । नेपालको लागि उपयोग हुने विदेशमा सिकेको जुन सुकै सीपबारे दख्खल राख्ने व्यक्ति नै उपस्थित हुने हो । सम्मेलनमा निजी क्षेत्रबाट पनि सहभागिता रहनेछ किनभने ज्ञान, सीप, र प्रविधीलाई आर्थिक लगानीबाट अलग राख्न सकिँदैन, यी अर्काका परिपुरक हुन् ।

एनआरएनको लगानीमा निर्माण गरिएको शंख्खमुल पार्कको निर्माण सम्पन्न भएको छ । यसअघि तत्कालीन शेष घले अध्यक्ष हुँदा शंख्खमुल पार्कको म स्वय संयोजक भएर काम गरेको थिए । पार्कको अवधारणा हामीले नै ल्याएकाले स्वय संयोजक भएर निकै कार्यप्रगति निकाल्न सफल भएको थियौ । अहिले आएर निर्माण कार्य सम्पन्न गरेका छौ । यस कार्यमा सहयोग गर्नुहुने सबैमा हार्दिक आभार ब्यक्त गर्न चाहान्छु । शेष घले जीको पालामा शुरु गरिएका ती प्रोेजेक्ट पूरा गर्न पाएकोमा हामी निकै खुसी छौ ।

साथै सम्मेलनमा नेपालकाबारे अध्ययन अनुसन्धान गरेका विदेशीहरु पनि यस सम्मेलनमा सहभागि हुनुहनेछ । खासगरी हामी जस्तै परिवेश भएका तर छोटो समयमा विकासको फड्को मारेका देशका विज्ञहरुको अनुभव हाम्रा लागि प्रभावकारी हुन सक्ब्छन् भनेरै उनीहरुलाई पनि सहभागी गराएका छौ । जस्तै दिल्ली मेट्रोको ईन्जिनियरलाई हामीले निमन्त्रणा गरेका छौँ । उहाँका अनुभव काठमाडौंमा मेट्रो रेल निर्माणमा सहयोगी बन्न सक्छ । युनेस्कोका विज्ञान तथा प्रविधी नीति सम्बन्धि विज्ञको पनि सहभगिता रहनेछ । भारत, ईटाली, अमेरिका, क्यानाडा, अष्ट्रेलिया लगायतका देशबाट करिब १० जना विदेशी विज्ञहरुले सम्मेलनमा भाग लिनुहुनेछ ।

विज्ञ सम्मेलनसँगै विधान सभाको पनि आयोजना गरिएको छ, विधान सभा आयोजना गर्नुको उद्देश्य चाँहि के हो ?

गैरआवासीय नेपाली संघ २००३ मा स्थापना भएको हो । संघ स्थापना भएको १५ वर्ष बित्दैछ । एनआरएनको स्थापनाकाल र अहिले परिस्थिति बद्लीएको छ । एनआरएन फैलदै गइरहेको छ । एनआरएनका आवश्यकता परिवर्तन भएका छन् । त्यसैले एनआरएन निवर्तमान अध्यक्ष शेष घलेको नेतृत्वमा ल्याइएको एनआरएनको भिजन ट्वान्टी ट्वान्टी एण्ड वियोण्ड प्रस्तावना पेश गरि कार्यान्वयनमा ल्याउन विधान संशोधन आवश्यक देखिएको हो । जस्तो, कस्ता ब्यक्तीलाई डेलिगेट्स बनाउने, सांगठनीक संरचना, निर्वाचन प्रणाली कस्तो बनाउने भन्ने विषयमा छलफल गर्न आवश्यक देखिएकाले यो विधानसभा आयोजना गरिएको हो ।

विधान सभामा सांगठनीक संरचना, निर्वाचन प्रणाली, प्रतिनिधि छनौटलगायका विषयमा कस्तो खालको प्रस्ताव पेश हुँदैछ ?

विधान सभामा विशेषत मैले माथि नै भने एनआरएनको सांगठनीक संरचनाको विषयमा गहिरो छलफल हुनेछ । संशोधीत विधानमा एक वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष प्रस्ताव गरिएको छ । वरिष्ठ उपाध्यक्ष बाहेक अन्य उपाध्यक्ष विषयगत हुने उल्लेख गरिएको छ । एनआरएन फाउन्डेसन बनाउने भनीएको छ । एनआरएन आइसिसीको कार्यकाल कती रहने भन्ने विषयमा छलफल गरिनेछ । विधान सभामा आवश्यकताका आधारमा छलफल गरि संशोधीत विधान पारित गरिनेछ र त्यसलाई कार्यान्वयनमा लग्नको लागि विशेष साधारणसभाबाट अनुमोदन गरिनेछ । यस विषयमा आइसिसीबाट विभिन्न एनसिसीमा परिपत्र भई छलफल गर्न भनीएको थियो । आइसिसीको सो परिपत्रलाई आधार बनाएर एनसिसीमा पनि गहिरो छलफल गरि लिखित रुपमा प्रस्तुत गर्नुहुनेछ । विभिन्न एनसिसीको धारणा र सुझावलाई समेटेर हामी अगाडि बढ्नेछौ ।

फरक प्रसंगमा कुरा गरौ, गैरआवासीय नेपाली संघले सञ्चालन गरिरहेका विभिन्न मेगा प्रोजेक्टहरु छन्, ती प्रोजेक्टको कार्यप्रगति के कस्तो छ, बताइदिनुस न ?

एनआरएनले नेपालमा भूकम्पपछि पुननिर्माणमा लगानी गरेको थियो । जस्तो गोरखाको लाप्राकमा नमुना बस्ती निर्माण गर्ने कार्यको शूरुवात गरिएको थियो । तर विविध कारणवश लाप्राक नमुना बस्तीको निमार्ण कार्यमा ढिलाई भइरहेको छ । बस्ती निमार्ण सम्पन्न गर्न अझै केहि समय लाग्ने देखिन्छ । साथै एनआरएनको लगानीमा निर्माण गरिएको शंख्खमुल पार्कको निर्माण सम्पन्न भएको छ । यसअघि तत्कालीन शेष घले अध्यक्ष हुँदा शंख्खमुल पार्कको म स्वय संयोजक भएर काम गरेको थिए । पार्कको अवधारणा हामीले नै ल्याएकाले स्वय संयोजक भएर निकै कार्यप्रगति निकाल्न सफल भएको थियो । अहिले आएर निर्माण कार्य सम्पन्न गरेका छौ । यस कार्यमा सहयोग गर्नुहुने सबैमा हार्दिक आभार ब्यक्त गर्न चाहान्छु । शेष घले जीको पालामा शुरु गरिएका ती प्रोेजेक्ट पूरा गर्न पाएकोमा हामी निकै खुसी छौ । अर्को, एनआरएन भवनको निर्माण पनि तीब्र गतिमा भइरहेको छ । निर्माण कार्य जारी रहेकाले अझै पूरा गर्न समय लाग्ने देखिन्छ । पूरै निर्माण सम्पन्न नभएपनि एनआरएन डे का अवसरमा नयाँ भवनमा सर्ने योजना छ ।

भूकम्पपछि हाम्रो अधिकांश समय पुर्ननिर्माणामै बिते । हामीलाई जहाँ जाँदा पनि बृद्धिजीवी वर्गले नेपालको आर्थिक सम्मृद्धिको लागि ज्ञान, सिप र प्रविधि हस्तान्तरणको लागि सम्मेलनमा ढिलाई भएकोप्रति निकै गुनासो गर्ने गर्नुहुन्थ्यो । हामीले पुर्ननिर्माण जस्ता कार्यमा अल्झिदा यस्ता प्रश्नलाई सम्बोधन गर्न सकिरहेका थिएनौ । अब हामी यी प्रश्नलाई सम्बोधन गर्दै नेपालको आर्थिक सम्मृद्धिमा अगाडि बढेका छौ । यो नै सबैको लागि खुसीको कुरा हो । यसमा तपाई हामी सबैले गर्व गनैपर्छ । त्यसैले मैले भन्दै आइरहेको छु, अब हामी झिनामसिना काममा अल्झिएर हुन्न, हामीले सामूहिक लगानीको अवधारण अगाडि बढाउनुपर्छ । आर्थिक सम्मृद्धिमा जोड दिने खालका परियोजना अगाडि बढाउनुपर्छ भन्ने गरेको छु । मैले भन्ने गरेको विषयले चाँडै मुर्तरुप लिनेछ भन्ने विश्वास ब्यक्त गर्न चाहान्छु ।

गैरआवासीय नेपाली संघको यही अक्टोवर ११ अर्थात असोज २५ गते ‘एनआरएन डे’ परेको छ, स्थापना दिवसको अवसरमा के कस्तो कार्यक्रम गरिरहनु भएको छ ?

हरेक वर्ष झै यो वर्ष पनि एनआरए डे अर्थात स्थापना दिवस मनाउन गइरहेका छौ । स्थापना दिवसको अवसर पारेर विभिन्न एनसिसीमार्फत विभिन्न गतिविधि भइरहेका छन् । साथै आइसिसीका विभिन्न विभागले पनि स्वास्थ्य शिविर, खेलकुद प्रतियोगिता, रक्तदान कार्यक्रमजस्ता कार्यक्रम आयोजना गरिरहनु भएको छ । हामीले स्थापना दिवसको अवसरमा साताब्यापी कार्यक्रम पनि शूरु गरिसकेका छौ । कार्यक्रम अहिले जारी छन् । एनआरएनको विज्ञ सम्मेलनमा सहभागिताका लागि आउनुहुने एनआएनहरु निकै उत्साहित भएर यो दिवस मनाइरहनु भएको छ । हामीले अक्टोवर ११ कै दिन स्थापना दिवसमा शंख्खमूल पार्क सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ भने नयाँ भवनमा पनि सर्ने कार्यक्रम छ । अन्य विभिन्न कार्यक्रम तथा गतिविधी भइरहेको यहाँलाई जानकारी गराउन चाहान्छु ।

अन्तमा के भन्न चाहानुहुन्छ ?

अन्तमा गैरआवासीय नेपाली संघले पहिलो पटक काठमाडौंमा आयोजना गर्न लागेको विज्ञ सम्मेलन र विधान सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गर्न चाहान्छु । साथै काठमाडौंमा हुने विज्ञ सम्मेलनमा पाल्नुहुने, आउँदै गर्नुहुने सम्पूर्ण पाउनाहरुलाई हार्दिक स्वागत गर्न चाहान्छु । विज्ञ सम्मेलनमार्फत विदेशमा बसोबास गर्ने नेपालीको ज्ञान, सिप र प्रविधि तथा अनुभव हस्तान्तरण गरि नेपालको आर्थिक सम्मृद्धिमा टेवा पुर्याउन महत्वपूर्ण सहयोग मिल्नेछ भन्ने हामीले अपेक्षा गरेका छौ । त्यसैले सम्मेलन सफल बनाई नेपालको आर्थिक सम्मृद्धिमा सबैको साथ र सहयोग मिल्ने विश्वास ब्यक्त गर्न चाहान्छु । साथै एनआरएन डे को अवसरमा विभिन्न कार्यक्रमसमेत आयोजना भइरहेकाले सो कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोधसमेत गर्न चाहान्छु । धन्यवाद ।