काठमाडौँ- उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।
बङ्गलादेशको मिरपुरस्थित शेर बङ्गला राष्ट्रिय रङ्गशालामा भएको क्वाटरफाइनल खेलमा नेपाल बङ्गलादेशसँग ६ विकेटले पराजित भएको हो । यस हारसँगै नेपालको सेमिफाइनलमा पुग्ने सपना भने चकनाचुर भएको छ ।
सोह्र वर्षको लामो समयपछि क्वाटरफाइनलमा पुगेको नेपालको अघिल्लो चरणमा पुग्ने सपना यसपटक पनि तुहिएको छ । यसअघि सन् २००० मा भएको विश्वकपमा पहिलो पटक सहभागिता जनाएको नेपालले त्यतिबेला क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ् गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २११ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको बङ्गलादेशले नेपालको चुनौतीलाई १० बल बाँकी छँदै पूरा गर्यो । बङ्गलादेशले खेलको ४८ दशमलव २ ओभरमा चार विकेट गुमाउँदैँ नेपालको चुनौतीलाई पूरा गरेको हो जितसँगै बङ्गलादेश सेमिफाइनलमा प्रवेश गरेको छ ।’






