अचानक खुल्यो वीरगन्ज नाका, ५० भन्दा बढी ट्रक नेपाल भित्रिए

वीरगन्ज- लामो समयदेखि अवरुद्ध वीरगन्ज रक्सौल भन्सार नाका दिउँसोदेखि अचानक पुनः सञ्चालन भएको छ ।

मधेसकेन्द्रित दलको आह्वानमा नेपाल–भारत मुख्य नाकाको सीमामा पर्ने मितेरी पुलमै गत असोज ७ गतेदेखि आन्दोलनकारी धर्नामा बसेर नाका ठप्प पारेपछि त्यहाँबाट हुने आयात निर्यात पूर्ण रुपमा ठप्प भएका थिए ।

स्थानीय व्यापारीले मितेरी पुलमा रहेको पाल र ढाट हटाएपछि नाका सञ्चालन भएको हो । स्थानीय व्यवसायीले अपराह्न १ बजेदेखि सञ्चालन भएपछि अहिले नाकाबाट साना सवारी साधन, मालवाहक ट्रक, कन्टेनर लगायत सबै सवारीसाधन निर्बाध रुपमा सञ्चालन भइरहेको छ भने नाकामा एक्कासि चहलपहल बढेको छ ।

नाका भएर साँझसम्म ५० भन्दा बढी मालबाहक ट्रक नेपाल भित्रिएका तथा केही ट्रक सीमावर्ती भारतीय सहर रक्सौलतर्फ गएको पर्साका सहायक प्रजिअ अनुज भण्डारीले बताउनुभयो । नेपाल भित्रिएका मालबाहक ट्रकमा यान्त्रिक औजार लगायत मालसमान रहेको बताइएको छ ।