कर्णालीकी छोरी हङकङ दौड प्रतियोगितामा प्रथम

bishnuजुम्ला- जुम्लाको विकट गाविस मालिकाठाँटा–९ खोप्रीगाउँमा जन्मेकी विष्णुमाया बुढाले हङकङमा भएको एम्सिग लाङ्टाउ पाँच किमी भर्टिकल टे«ल रनिङ तथा हाइकिङ दौड प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छन् ।

उनले यो दौड ५१ मिनेट ५० सेकेन्डमा पार गरेर प्रथम स्थान हात पारेकी हुन् । प्रथम स्थान प्राप्त गरेकी उनले ६ हजार हङकङ डलर प्राप्त गरेको कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो । दौडमा फ्रान्स, केन्या र हङकङकी महिलाले क्रमशः द्वितीय, तृतीय र चौथो स्थानमा रहेका थिए ।

त्यसैगरी ५० किमी एम्सिग लाङ्टाउ दौड प्रतियोगितामा भने बुढाले चौथो स्थान हात पारेकी छन् । यसमा भने उनले एक हजार हङकङ डलरमा चित्त बुझाउनु परेको छ । बुढाले पहिलोपटक विदेश यात्रा र खेलमा सहभागी भएको पहिलो मौकामा नै प्रथम स्थान हात पारेकी हुन् । दुई साताअघि पनि उनले मनास्लुको म्याराथुनमा २२० किमीमा प्रथम सुरक्षित गरेकी थिइन् ।

मनास्लु म्याराथुनमा पुरुषतर्फ जुम्लाकै दीपेन्द्रबहादुर बमले प्रथम स्थान हासिल गरेको अध्यक्ष शाहीको भनाइ छ । विष्णुमायालाई हङकङको एम्सिग लाङ्टाउ दौड प्रतियोगितामा सहभागी गराउन नेपाल टे«ल रनिङले स्पोन्सर गरेको क्लबका सल्लाहकार नारायण आचार्यले बताउनुभयो । बुढालाई कर्णालीका हिमचितुवाका नामले चिनिने म्याराथुन धावक हरिबहादुर रोकायाले प्रशिक्षण दिँदै आउनुभएको थियो ।