
काठमाडौं- एमाले स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि रिस साँधेको बताएका छन् । उनले आयोगको आरोप सामना गर्ने पनि बताए ।
नेता पाण्डेले गत वर्ष अर्थ समितिमा आयोगका प्रमुख आयुक्तलाई बोलाएकै कारण आफूमाथि रिस साँधेर अनुसन्धानको सूचीमा राखिएको बताए । पाण्डेले कोही पनि चित्त बुझाएर नबस्न आग्रह गर्दै आफूले कुनै गल्ती नगरेको र पार्टीको जिम्मेवार पदमा रहेकाले यस विषयमा पार्टीले नै फेस गर्ने पनि बताए ।
विस्तृत आफूलाई थाहा नभइसकेको भन्दै उनले भने, ‘तपाईंहरु सबैलाई थाहै छ, गत वर्ष अर्थ समितिले बोलाउँदा आउने/नआउनेदेखि, चर्काचर्की र बीचैमा उठेर हिँड्ने काम भएको थियो, त्यसैको रिस साँधिएको होला ।’
पाण्डेले भने, ‘आफ्नो जिम्मेवारीलाई यसरी गलत ढङ्गबाट प्रयोग गर्नु हुँदैन ।’
पाण्डेले आफूले एक सुका तलमाथि कतै नगरेको जिकिर पनि गरे । उनले सांसद कोषको रकममा समेत कुनै अनियमितता नहोस् भनेर आफूले सजग गराएको स्मरण गराए । अख्तियारले आफ्नो दायराभन्दा बाहिर गएर काम गरेको उनले बताए ।
उद्योगी, व्यवसायीलाई समेत बिनाकारण अनुसन्धानको दायरामा राखेको भन्दै उहाँले कसैले पनि काम गर्न नपाउने रु भन्दै प्रश्न गरे ।






