काठमाडौं– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको १५ दिनपछि नाका अवरोध छाड्ने तयारी गरेको छ ।
मोर्चाको बैठकमा नाकाबन्दी खोल्ने प्रस्तावले पहिलो पटक प्रवेश पाएको छ। सिंहदरबारमा आइतबार बसेको बैठकमा पुस मसान्तदेखि लागू हुने गरी नाकाबन्दी खोल्नेबारे मोर्चा आबद्ध चार दलबीच छलफल भएको हो।
असोज ३ मा संविधान जारी भएको तेस्रो दिनदेखि मोर्चाले घोषणा गरेको नाका धर्नाका कारण जनजीवन अस्तव्यस्त हुँदै गएको र मधेसमै आन्दोलनकारीको उपस्थिति घट्न थालेको भन्दै चार दलका नेताले संघर्षको स्वरूप बदल्ने बेला आएको विचार राखेका थिए।
ठूला तीन दलका तर्फबाट सरकारले संविधान संशोधन प्रस्ताव अगाडि बढाएको पृष्ठभूमिमा उही शैलीको नाकाबन्दीलाई निरन्तरता दिइरहे सर्वसाधारणमा असन्तुष्टि बढ्न सक्नेबारे पनि बैठकमा छलफल भएको स्रोतले बतायो।
तराई–मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले नाकाबन्दी खुलाउनेबारे छलफल चलिरहेको घुमाउरो पारामा स्वीकारे।
साढे चार महिनायता मधेसमा मोर्चाको नेतृत्वमा आन्दोलन जारी छ। असोज ३ गते संविधान जारी भएको भोलिपल्टदेखि नेपाल–भारत सीमानाका बन्द छ।






