दुई किशोरीमाथि एसिड हान्ने युवालाई प्रहरीले शुक्रबार काठमाडौंमा सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा प्रहरीले प्रेममा धोका पाएकै कारण जीवनले संगीतामा माथि एसिड हानेको तथ्य बाहिर ल्याएको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा आयोजित पत्रकार सम्मेलनमा रामेछापको फुलासी गाविसका २० वर्षीय जीवन विकले प्रेमका धोका पाएपछि एसिड हानेको तथ्य प्रहरीले सार्वजनिक गरेको हो ।
विकले किशोरी संगीता मगरलाई २०६९ देखि मन पराउँदै आएको र परिवारले उक्त कुरा थाहा पाएपछि उनीहरुबीचको प्रेम भाँडिएको खुल्न आएको छ ।
‘शुरुमा जीवनले आफ्नो नाम जीवन खड्का बताएको र पछि जीवन विक भन्ने कुरा संगीताले थाहा पाएपछि उनीप्रति हेयभाव देखाएकी थिइन्’, महानगरीय प्रहरी आयुक्त एआईजी विज्ञानराज शर्माले भने, ‘जीवनले थर ढाँटेर आफूसँग प्रेम गरेको थाहा पाएकी संगीता टाढिएपछि बदला लिन एसिड हानिएको अनुसन्धानबाट खुलेको छ ।’






