काँग्रेस र एमाओवादीबीच गहन छलफल

काठमाडौं, १५ चैत । सत्तारुढ दल नेपाली काँग्रेसका नेता एवम् सरकारका प्रतिनिधि र प्रमुख प्रतिपक्षी दल एनेकपा (माओवादी)का नेताहरुबीच संविधान लेखनमा सहमति कायम गर्ने विषयमा केन्द्रित भएर छलफल भएको छ । एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज साँझ उहाँहरुबीच विशेष गरी सङ्घीयताका विषयमा मिलनविन्दु पहिल्याउनेमा केन्द्रित रहेर छलफल भएको हो ।
एनेकपा (माओवादी) नेतृत्वको मोर्चाले भोलिदेखि आन्दोलनको घोषणा गरेको सन्दर्भमा सत्तारुढ दलका नेताहरुले वार्ता र संवादका आधारमा सबै विषयको छिनोफानो हुने भएकाले आन्दोलनको बाटोमा नलाग्न एमाओवादीलाई सुझाव दिनुभएको थियो ।
छलफलबाट बाहिरिएपछि रासससंग सङ्क्षिप्त कुरा गर्दै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानका अन्तर्वस्तुका साथै सङ्घीयताका विषयमा सहमतिको मिलनबिन्दु पहिल्याउने मुद्दामा केन्द्रित रहेर छलफल भएको बताउनुभयो ।
नेपाली काँग्रेस र नेकपा (एमाले)ले प्रस्तुत गरेको सङ्घीयताको प्रस्तावमा अरु दलले विवाद उठाएको, पाँच जिल्लालाई कसरी मिलाउने, प्रदेश कति बनाउने, नाम के राख्ने तथा नाममा कसरी सहमति कायम गर्नेजस्ता विषयमा गहन छलफल भएको जानकारी उहाँले दिनुभयो ।
उपसभापति पौडेलले भन्नुभयो – संविधान निर्माणको काम समयमा गर्न नसक्दा विकास र समृद्धिका धेरै कार्य गर्न ढिला भइसक्यो, संविधान चाँडै बनाउनुपर्छ, त्यसका लागि सकेसम्म सहमति कायम गर्नुपर्छ, सहमतिका विभिन्न विकल्पका बारेमा अझ विस्तृतरुपमा छलफल गरौँ भन्ने कुरा भयो ।
एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मुलुकलाई फेरी द्वन्द्व र मुठभेडको स्थितिमा जान नदिन नेपाली काँग्रेस र एमालेका नेताहरुलाई आ–आफनो दलमा छलफल गरेर सहमति कायम हुने ढङ्गबाट वार्तामा आउन सुझाव दिएको बताउनुभयो ।
“सहमतिका लागि सत्तापक्ष जिम्मेवार भएर प्रस्तुत हुनुप-यो, सहमतिमा संविधान जारी गर्नुप-यो, होइनभने आन्दोलनको घोषणा गरिसकेका छाँै, अर्काे बाटो तर्फ जानसक्छौँ भनेका छाँ” – छलफलमा आफ्नो दलले अभिव्यक्त गरेका धारणाबारे प्रष्ट पार्दै उहाँले भन्नुभयो ।
संविधानका अन्तर्वस्तुमध्ये सङ्घीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीका विषयमा दलहरुबीच सहमति कायम नहुँदा विगत केही महिनायता संविधान लेखनको काम ओझेलमा परेको छ । विगतको सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न सक्षम राजनीतिक दलहरुले संविधानका अन्तर्वस्तुमा सहमति कायम गर्न नसक्नु भनेको अरु कुनै कुरा नभएर सत्ताको लालसा, प्रतिशोध र अविश्वास नै प्रमुख कारण भएको राजनीतिक विश्लेषकहरूले टिप्पणी गर्दै आएका छन् ।
अहिले दलहरु संविधानमा देखिएको विवाद छिनोफानो गर्ने विषयमा स्पष्ट रुपमा दुई धारमा उभिएका छन् । सत्तारुढ दल नेपाली काँग्रेस र एमाले संविधानको अन्तरवस्तुमा सहमति हुन नसके प्रक्रियामा गएर टुङ्ग्याउनुपर्छ भन्ने अडानमा छन् भने एमाओवादीको नेतृत्वमा रहेको मोर्चाले सहमति विपरीत सत्तापक्षले बहुमतको दम्भ देखाएर प्रक्रियामा गएर टुङ्ग्याउन खोजे आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ । यद्यपि दुबैपक्षबाट सहमतिका लागि भगिरथ प्रयत्न भने हुँदै आएको छ ।
छलफलमा नेपाली काँग्रेसका उपसभापति पौडेल, सरकारका तर्फबाट मन्त्रीद्वय महेश आचार्य र नरहरि आचार्य, नेता रमेश लेखक तथा एनेकपा (माओवादी)का तर्फबाट अध्यक्ष दाहाल, वरिष्ठ नेता डा.बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी सहभागी हुनुहुन्थ्यो ।