एयर एसियाको विमान बेपत्ता

आइतबार बिहान इन्डोनेसियाबाट सिङ्गापुरतर्फ उडेको एयर एसियाको एक  विमान बेपत्ता भएको  छ । सो विमानमा चालकदलका सदस्यसहित १६२ जना यात्रु सवार रहेका जनाइएको छ । पूर्वी जाभा प्रान्तको सुराबायास्थित ज्वान्डा अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयाअनुसार आइतबार बिहान ५ः३० बजे सो विमान उडेको बताइएको छ ।
उक्त विमानसँग आइतबार स्थानीय समयअनुसार ८.५५ मा सम्पर्कविहीन भएको इन्डोनेसियाली यातायात मन्त्रालयका प्रवक्ता जे.ए  बराताले एएफपी समाचार समितिलाई बताउनु भएको छ । सो विमान सिङ्गापुरस्थित स्थानीय समयानुसार आइतबार बिहान ८.३० मा पुग्नु पर्ने  समयतालिका रहेको पनि जनाइएको  छ ।
इन्डोनेसियाको हवाई यातायातका महानिर्देशक दजोको मुर्जात्मोद्जोले सो विमानमा  सात चालक दलका सदस्य र १५५ जना यात्रु रहेका र ती मध्ये १७ जना बालबालिका रहेका बताउनु भएको छ  । स्थानीय टेलिभिजन च्यानल मेट्रोका अनुसार सो विमानमा १४९ जना इन्डोनेयाली, तीन जना दक्षिण कोरियाली, एक ब्रिटिस, र एक मलेसियाली नागरिक रहेका जनाइएको छ ।