बेलायतको वृहत मेला ‘गोर्खा कप’ हेर्न ओइरिए हजारौं नेपाली (फोटो फिचर)

लन्डन । बेलायतमा नेपालीहरुको सबैभन्दा वृहत मेला अर्थात गोर्खा कपको २१ औं संस्करणमा हजारौं दर्शक ओइरिएका छन् ।

तमुधिं युकेको आयोजनामा २८ मे आइतबार अल्डरसटस्थित क्वीन्स् एभिन्यू खेल मैदानमा भएको प्रतियोगिता ‘गोर्खा कप’ मा दर्शक भीडले मैदान र अल्डरसट टाउन नेपालीमय बनेको थियो।

उत्साहजनक रुपमा सम्पन्न गरिएको खेल प्रतियोगितामा एलजी लायनले ३-१ गोल अन्तरले प्लमस्टिड एफसीलाई पराजित गरेको हो ।

उपाधिसंगै एलजी लायनले २५ सय पाउन्ड, ट्रफी र प्रमाणपत्र पाएको छ भने रनरअप प्लमस्टिड एफसीलाई १५ सय पाउण्ड, ट्रफी र सर्टिफिकेट दिइयो । भण्डै १४ हजार दर्शक सहभागी गोर्खा कपमा यसपटक मेन (मुख्य समूह) मा ३२ र भेट्रानतर्फ १० एवं दुई महिला टिमबीच प्रतिष्पर्धा भएको थियो ।

भेट्रानतर्फ हिमालयन एफसी पेनाल्टी सुटआउटबाट विजेता बनेर १२ सय पाउण्ड प्राप्त गरयो भने इन्टेक २००० ले रनरअपमा चित्त बुझायो । रनरअप टिमले ८ सय पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र पाएको छ ।

महिलातर्फ ‘म खेल्छु एफसी’ वीनर र रन्डरबोल्ट्स एफसी रनरअप बने । महिला टिमतर्फ पहिलो हुनेलाई ५ सय पाउण्ड र दोश्रो हुनेलाई तीनसय पाउण्ड, ट्रफी र सर्टिफिकेट प्रदान गरियो ।

त्यसैगरि खेलमा वेष्ट प्लेयरको उपाधि एलजी लायनका सौगात गुरुङले पाए भने टप स्कोररको उपाधि प्लमस्टिड एफसीका रेगन गुरुङले प्राप्त गरे । एलजी लायनका सोम गुरुङ वेष्ट म्यानेजर बने । लेडिजतर्फ वेष्ट प्लेयर भइन् सुष्मिता शाही ।

गोर्खा कपमा फुटबलबाहेक ठेलो प्रतियोगिता पनि गरिएको थियो जसमा मेनतर्फ निरज गुरुङ प्रथम भएर २०० पाउन्ड पाए भने भेट्रानतर्फ प्रथम गोकुल गुरुङ विजेता बनेर २०० पाउन्ड पुरस्कार पाए ।

सो अवसरमा पारासुट डिस्प्ले, सयपत्री कल्चरल ग्रुपको सानो आकर्षक नाच र गायक धिराज राईले बुद्ध वाज बोर्न इन नेपाल गीत गाए ।

धौलागिरी नौमति बाजाल अतिथी र खेलाडीहरुलाई विशेष बाजाका साग आगमन गराएको थियो ।इभेन्टमा हस्तकला, नेपाली पोशाक, खाना, च्यारिटी आदि गरि झण्डै ८२ स्टल थिए ।

फाइनल अघि आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथी रसमबोर बरो काउन्सिल मेयर क्लाइभ ग्रेटनले आफ्नो क्षेत्रमा नेपाली समुदायले वृहत कार्यक्रम गरेकामा खुशी व्यक्त गरे । आफ्नो बरोमा बढ्दो नेपाली जनसंख्याले बेलायती समाज थप मजवुत बनेको पनि उनले बताए ।

विशेष अतिथी लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनालले खेलकुदका माध्यमबाट सामाजिक सद्भाव र एकता उजागर भएको उल्लेख गर्दै इभेन्टले स्थानीय व्यापार प्रवर्धन समेत गरेको बताइन् ।

तमुधिं यूके अध्यक्ष हरि गुरुङले बेलायतस्थित नेपालीबीच एकता र सद्भाव सुदृढ पार्न गोर्खाकपले महत्वपूर्ण योगदान गरेको बताए । उनले स्थानीय व्यापार प्रवर्धन गर्न, युवालाई कुलतमा लाग्न रोक्न र स्थानीय समुदायबीच अन्तरघुलनका लागि पनि गोर्खाकप अभिन्न अंग बन्दै आएको उल्लेख गरे ।

तमुधिं यूके महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा गोर्खाकप संयोजक तथा तमुधिं यूके स्पोर्टस् सेक्रेटरी क्या. रि. दीपक घलेले स्वागत गरेका थिए ।

 


आरएलसी टिमले पारासुट डिस्प्ले गरेको थियो । सयपत्री कल्चरल ग्रुपले सानो नानीहरुको अति आकर्षक नाच प्रस्तुत गरेको थियो । गायक धिराज राईले बुद्ध वाज बोर्न इन नेपाल गीत गाएका थिए ।

प्रवेश र टिकटको कठिन जिम्मेवार साउथईष्ट रेजिनल तमुधिंले निभाएको थियो । घमाइलो दिन बिहानदेखि नै भोलेन्टियरहरु खटिएका थिए ।