काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल शैक्षिक सेवा परामर्शदाता कम्पनी जेननेक्स्ट कन्सल्टिङ समूहको ब्राण्ड ऐम्बेस्डर नियुक्ति भएका छन् ।
सोमबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीले पौडेललाई ब्राण्ड ऐम्बेस्डर नियुक्त गरेको हो । कार्यक्रममा कप्तान रोहित र जेननेक्स्टका सन्चालक मोहम्मद अस्लमले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । १ वर्षका लागि गरिएको सम्झौताको अवधी १ वर्षको हुनेछ ।
रोहितले आफ्नो सामाजिक सन्जालहरुबाट जेननेक्स्टको प्रवर्धन गर्ने सम्झौतामा उल्लेख भएको कम्पनीका सिईओ तथा संस्थापक डाईरेक्टर अरूण आर्यन चौधरीले जानकारी दिए । त्यसबापत रोहितले पाउने सुविधा खुलाइएको छैन । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने रोहितको कप्तानीमा नेपालले हालै एसीसी प्रिमियर कपको उपाधि जितेर एसिया कपका लागि छनोट भएको थियो ।
त्यसअघि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूमा अभूतपूर्व प्रदर्शन गरी तेस्रो स्थान हासिल गरेको थियो । सम्झौतापछि रोहितले निजी क्षेत्रबाट हुने यस्तो सहयोग र सम्मानले क्रिकेटमा राम्रो प्रदर्शनका लागि प्रोत्साहित गर्ने बताए । निजी क्षेत्रबाट हुने यस्तो सहयोग र हौसलाले काम गर्ने प्रोत्साहन सगैं आर्थिक उपलब्धी समेत हासिल हुने रोहितले प्रतिक्रिया दिएका छन् ।






