शिव भण्डारी
लन्डन । गुल्मी जिल्ला समाज यूकेले बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालका जनसम्पर्क विज्ञ बुद्धि जिसी, गुल्मीको धुर्कोट गाउंपालिका अध्यक्ष भुपाल पोख्रेल, चन्द्रकोट गाउंपालिका अध्यक्ष युवराज खत्री क्षेत्री र मालिका गाउंपालिका अध्यक्ष देवीराम अर्याललाई स्वागत, सम्मान तथा विदाई गरेको छ । 
समाजले शुक्रबार सांझ लन्डन साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा नेपालबाट आएका गुल्मेली जनप्रतिनिधिहरुको स्वागत तथा सम्मान गरेको हो ।
सो अवसरमा नेपाल टेलिभिजनका कार्यकारी समाचार सम्पादक तथा प्रमुख समाचारदाता रामप्रसाद भण्डारीलाई समेत स्वागत, सम्मान गरियो ।
अध्यक्ष वीर बलाल र संस्थापक अध्यक्ष ओमप्रसाद थापाले उनीहरुलाई स्वागत तथा सम्मान गरे ।
समाजका अध्यक्ष वीर बलालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी बुद्धि जिसीले सम्मान कार्यक्रम गरेकामा आयोजकप्रति आभार व्यक्त गर्दैै बेलायत बसाइका क्रममा न्यानो आतिथ्य प्रदान गर्ने सबैप्रति कृतज्ञता समेत व्यक्त गरे ।
जिसीले बेलायतबाट के सिक्न सकिन्छ भन्नेबारे आफूहरुको भ्रमण केन्द्रित रहेको बताए । समाजले जिल्लामा एम्बुलेन्स प्रदान, अपांगहरुलाई आर्थिक सहयोग लगायत धेरै प्रशंसनीय काम गरेको स्मरण गर्दै जनसम्पर्क विज्ञ जिसीले समाजलाई जिल्लाले समेत सम्मान दिइरहने बताए ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले वंशजको नेपाली नागरिकता निरन्तरता अभियानलाई नेपालमा समेत विशेष प्राथमिकताका साथ उठाइदिन अपिल गरे । गाहामगरले बेलायतमा स्थानीय सरकार कसरी चल्ने रहेछ त्यसको अनुशरण नेपालमा समेत गर्न सुझाए ।
एक साता लामो बेलायत भ्रमण सकेर नेपाल फर्कने अघिल्लो दिन आयोजित कार्यक्रममा जनप्रतिनिधिहरुले बेलायतको विकास, केन्द्र र स्थानीय सरकार सञ्चालन प्रणालीबारे धेरै ज्ञान हासिल गरेको बताए ।
बेलायतको पहिलो भ्रमणले आफ्नो जिल्लाको विकास निर्माणका लागि प्रेरणा दिएको पनि सुनाए । न्यानो स्वागत, सम्मानको गहुंगो भारी बोकेर स्वदेश फर्कन लागेको पनि उनीहरुले बताए ।
समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापाले आफ्नो जिल्लाका जनप्रतिनिधिलाई बेलायतमा स्वागत गर्न पाउंदा खुशी लागेको बताउंदै युवा जनप्रतिनिधिहरुले जिल्लाको विकासमा देखाएको सक्रियताप्रति धन्यवाद व्यक्त गरे । संस्थापक अध्यक्ष थापाले समाजले जिल्लाको सामाजिक, आर्थिक तथा शैक्षिक विकासका लागि धेरै च्यारिटी काम गरेको पनि स्मरण गरेका थिए ।
समाजका अध्यक्ष वीर बलालले आफ्नो जिल्लाका जनप्रतिनिधिहरुलाई छोटो समयमै भएपनि स्वागत सम्मान गर्न पाएकोमा खुशी लागेको बताए ।
कार्यक्रम समाजका महासचिव रुद्र थापाले सञ्चालन गरेका थिए । कार्यक्रम सञ्चालनका क्रममा महासचिव थापाले आफ्नो जिल्लाका जनप्रतिनिधिहरुलाई बेलायतमै स्वागत गर्न पाउनु ऐतिहासिक भएको बताए ।
कार्यक्रममा समाजका पूर्व अध्यक्ष राम गलामी, निवर्तमान अध्यक्ष टोप पल्ली, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, कम्युनिष्ट नेता सल्लाहकार सुरेश गौतम, सल्लाहकार राजेन्द्र श्रेष्ठ, सल्लाहकार गोकर्ण बस्नेत, सल्लाहकार ओम गुरुंग, सल्लाहकार टाम ढेगा, पत्रकार शिव भण्डारी, यज्ञ खरेल, नवोदित कलाकार दीपक मैथाने लगायतको उपस्थिति थियो ।
कार्यक्रममा सहभागीले प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ जिसी र तीन जनप्रतिनिधिहरुसमक्ष विभिन्न जिज्ञासा राखेका थिए।कार्यक्रममा प्रवक्ता राधा खरेलले स्वागत मन्तव्य दिएकी थिइन् ।






