सिड्नी । फेड्रेशन अफ नेप्लिज कम्युनिटी एशोशियसन अफ अष्ट्रेलिया(फेन्का) ले न्यू साउथ वेल्समा विभिन्न कार्यक्रम गरि “ईन्टरनेशनल एभरेष्ट डे” मनाएको छ । फेन्काको बार्षिक कार्यक्रम अनुसार विभिन्न राज्यमा मनाईँदै आएको ऐभरेष्ट डे न्यू साउथ वेल्सको टिम्ब्रेल पार्कमा २८ मे आईतबार विभिन्न कार्यक्रम गरी मनाईएको हो ।
प्रवासमा रहेर पनि नेपालको पर्यटन प्रवद्र्धन गर्ने र नेपालको विविधता झल्काउने गरी आयोजना गरिएको कार्यक्रम पदयात्राबाट सुरु भएको थियो । झण्डै ५ किलोमिटर पैदलयात्रा पश्चात औपचारिक कार्यक्रम सुरु भएको रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाका अध्यक्ष मुक्तिराम पोखरेलले बताए । सुरु भएको औपचारिक कार्यक्रममा विभिन्न सघंसंस्थाका प्रतिनिधि, गैरआवासीय प्रतिनिधि, अस्ट्रेलियाका प्रतिनिधि, न्यू साउथ वेल्स राज्यका बहुसांस्कृतिक मन्त्री, पूर्व मन्त्री र स्थानीय सहित झण्डै १ सय ३० जनाको उपस्थिति रहेको फेन्काका महासचिव डा. मधु पुडासैनीले जानकारी दिए । कार्यक्रममा नेपालको झण्डा सगैं, हिमालको नक्सा र अस्ट्रेलियाको नक्सा सम्मिलित विभिन्न सामाग्रीहरु प्रदर्शन गरिएको थियो भने बालबालिकाहरुले नेपाली संस्कृति झल्कने प्रस्तुती राखेका थिए ।
कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले मन्तव्य व्यक्त गर्दै एनआरएनएको तर्फबाट शुभकामना व्यक्त गरेका थिए ।फेन्का न्यू साउथ वेल्स राज्य संयोजक विष्णु हमालले कार्यक्रमलाई सम्पन्न गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नुहुने र सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए । फेन्काले यस भन्दा अगाडी अस्ट्रेलियाका अन्य राज्यहरुमा पनि एभरेष्ट डे मनाएको थियो ।






