सिड्नी । सिड्नीमा नयाँ बर्ष २०२१ को अवसरमा गरिने हर्षाेल्लास यस बर्ष कोरोनाभाइरस महामारीको कारण प्रभावित हुने भएको छ । अँग्रेजी बर्षको स्वागतमा सिड्नी स्थित हार्वर ब्रिजमा विभिन्न पटाका सहितको अतिसबाजी गर्ने गरिन्छ । उक्त समारोह अवलोकनकोे लागि विश्वभरबाट हजारौ मानिस आउने गरेका छन् । तर यस बर्ष भने सात मिनेट मात्रै फायरवक्र्स अर्थात अतिसबाजी ७ मिनेटमात्र गरिने भएको छ । यस अघि करिब १५ मिनेट उक्त फायरवर्क्स गरिदै आएको थियो ।
न्यू साउथ वेल्समा केही हप्तादेखि कोरोनाभाइरस संक्रमणको तेस्रो लहर शुरु भएपछि निकै सतर्कता अपनाइएकोे छ । अनावश्यक रुपमा बाहिर निस्कन र भिडभाड गर्न सरकारले बन्देज लगाएको छ । महामारीको जोखिम बढ्न सक्ने भन्दै हार्वर व्र्रिजमा हुने नयाँ बर्ष स्वागत समारोहमा मानिसहरुको उपस्थिती बन्द गराइने भएको छ । यस अघि महामारी नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएका कर्मचारीहरुलाई उपस्थित गराइ सम्मान गर्ने भनिएको थियो । तर सोमबार पत्रकार सम्मेलनको क्रममा न्यू साउथ वेल्सकी प्रिमियर ग्लाडिस बरिजेक्लियनले अग्रपंक्तिमा खटिने कर्मचारीहरुलाई अर्काे कुनै समारोहमा सम्मान गरिने बताइन् ।
यसैगरी नयाँ बर्ष इभमा सिड्नीको मुख्य व्यापारिक केन्द्र मानिएको सिबिडी प्रवेश गर्न पनि बन्देज गरिएको छ । केही विशेष व्यक्तिहरुले पास लिएर प्रवेश पाउनेछन् । पास पाउनेहरुलाई नयाँ बर्ष स्वागत समारोह हेर्न भने पाउनेछन् । अन्य व्यक्तिहरुले प्रत्यक्ष प्रशारण हेर्न सक्नेछन् ।
संक्रमित संख्या १२६ पुग्यो
न्यू साउथ वेल्समा संक्रमितको संख्या १२६ पुगेको छ । गत २४ घण्टामा १५ हजार परिक्षणमा ५ जना संक्रमित भेटिएका छन् । उक्त संक्रमितहरु सामुदायिक संक्रमणबाट भेटिएको पाइएको छ । यस्तै थप एकजना संक्रमितको मृत्यु भएसँगै न्यू साउथ वेल्समा कोरोनाबाट निधन हुनेको संख्या ५६ पुगेको छ ।
यस्तै क्विन्सल्याण्डमा बाहिरबाट आएका ५ जनामा संक्रमण देखिएको छ । उता भिक्टोरियामा पनि देशबाहिरबाट आएका २ जनालाई कोभिड १९ पुष्टि भएको छ ।






