बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् विघटन गरेसँगै विभाजित भएको नेकपाको असर प्रदेश सभामा पनि पुगेको हो ।

नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

उक्त अविश्वास पत्रमा मुख्यमन्त्रीबाट पौडेललाई हटाएर नयाँ मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ । अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि बागमती प्रदेश सरकारका तीनजना मन्त्रीहरुले राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलाल रहेका छन् ।

मुख्यमन्त्री पौडेल नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकटका हुन् ।

ओलीले संघीय संसद विघटन गरेसँगै उनी निकटका ४ मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने चर्चा चलिआएको थियो । उक्त चर्चा चलेसँगै ओलीले प्रदेश सभा समेत भंग गर्ने चेतावनी दिएका थिए ।