भक्तपुर- राष्ट्रियताका पक्षमा स्पष्ट अडान राख्दै आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस र पहाड छुट्याउन ‘चलखेल’ भइरहेको भन्दै सरकारले त्यसलाई कुनै हालतमा सफल हुन नदिने दृढता व्यक्त गर्नुभएको छ ।
नेकपा (एमाले) काठमाडौँ जिल्ला सङ्गठन कमिटीले बोडेमा आयोजना गरेको प्रथम बैठक तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालीको अस्तित्व र एकतालाई तलमाथि पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एमालेका अध्यक्ष समेत रहनुभएका उहाँले आफूले देशले झुक्ने गरी कुनै कदम नचाल्ने बताउँदै दुनियाँका अरु मुलुक उपनिवेश हुँदा पनि नेपाल स्वतन्त्र रहेको उल्लेख गर्नुभयो ।
देशको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र अखण्डताविरुद्व कुनै सम्झौता नगर्ने र अरु कसैलाई गर्न पनि नदिने ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले जनताद्वारा निर्वाचित दुई तिहाइ संविधानसभा सदस्यले बनाएको र पारित गरेको संविधान परिवर्तन गर्न असम्भव रहेको बताउनुभयो ।







