काठमाडौं– प्रधानमन्त्री केपी ओलीले आफ्नो भारत भ्रमण बनावटी, देखावटी नभई यर्थाथमा आधारित भएको बताएका छन् ।
‘नेपाल भारत सम्बन्ध, अब तस्बिर आफैं बोल्छ,’ तीन दिने राजकीय भ्रमणबाट आइतबार साँझ स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै भने ,‘हामी सम्बन्ध बिगार्दैनौं र बिग्रिदैन, पारस्परिक लाभमा आधारित मित्रतापूर्ण सम्बन्ध अघि बढ्छ।’ उनले नेपालको नयाँ जनमतलाई भारतले अब स्वागत गरेको उल्लेख गरे ।
ओलीले २१ औँ शताब्दीमा छिमेकीसँग कस्तो सम्बन्ध हुनुपर्छ, त्यो आफूले भारतीय समकक्षीसँग स्पष्ट रुपमा राखेको बताएका छन्। ओलीले भने, ‘जनताको जुन अभिमत लिएर म भारत गएको थिएँ, त्यसलाई भारतले स्वीकार गर्यो।’
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा सार्वजनिक भएका तस्बिरले नै नेपाल(भारत सम्बन्ध सुध्रिएको देखिएको समेत बताए। उनले अब सम्बन्ध नबिग्रिनेसमेत बताए।







