जुम्ला दुर्घटनामा बाँचेकाको कथा

जुम्ला, ४ चैत । ‘डोजरले हाम्रो काललाई अलि पर धकेलेको रहेछ, जब डोजर क्रस भयो एकैछिन पछि करिब ३० मिटर पर गएर हामी कालको मुख परेछौँ । धेरैलाई निल्दै गर्दा उसको गास बढी भएछ अनि हामीलाई निल्न नसकेर बाहिर फ्याँकेछ ।’कालप्रति गरिएको यो दुखेसो तीन महिने नाति वसन्त रोकाया र जुम्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता लिएकी उनकी बुहारी देवु रोकाया गुमाएका र आफ्नो उपचार गराउँदै स्याहार्नेे काम गरिरहेका महावैपाथरखोला– ९ निवासी दलबहादुर (गम्मा) रोकायाको हो । उनका ४३ वर्षीय छोरा सर्जन रोकाया पनि गम्भीर रुपमा घाइते भई उपचार गराइरहेका छन् ।
उनलाई र बुहारी देवुलाई घटनास्थलबाट र तीन महिने नाति वसन्त रोकायालाई उपचारको क्रममा गुमाएको तथा छोरा सर्जन श्ययामा गम्भीर घाइते छ भन्ने कुराको पत्तो नै उनलाई भएन ।
मङ्गलबार बिहान मात्र उनलाई थाहा भयो कि बुहारी र नाति यो संसारमा रहेनछन् भनेर । अनि छोरा सर्जन पनि दुर्घटनाको चोटभन्दा पनि श्रीमती देवु गुमाउँदाको चोटले अहिले झनै बरालिएका छन् । देवुको अढाई वर्षकी छोरी भने घरमै रहिछन् । उनले भने – उनी त अहिले पनि ममी कहिले आउनु हुन्छ भनेर सोध्दै छन् रे । कसरी घरमा गएर नातिनीलाई उत्तर दिने ? पीडित दलबहादुरले रोदन मिश्रित शब्दमा भने । मेरो जीवनमा जे भयो ? यो कसैलाई नहोस् ईश्वरलाई यही मेरो प्रार्थना छ ।
त्यसैगरी श्ययामा नयाँ जीवन पाएको अनुभूत गरिरहेका शनिगाउँ– ९ का ५० वर्षीय सौर्य रोकायाले फेरि पनि संसार देख्न पाएको बताए । उनी अहिले आफू ठीक अवस्थामा रहेको बताउँदै साथमा रहेकी छोरी हिमाली रोकाया कोहलपुर शिक्षण अस्पतालमा कस्तो उपचार भइरहेको छ भन्ने चिन्ता गरिरहेका छन् । उनले गाडी दुर्घटनाको प्रमुख कारण चालक र तीव्र गति भएको दाबी गरे । जब डोजरबाट गाडी क्रस भयो अनि उसले आफूले कहिलै पनि अनुभव नगरेको स्पिडमा गाडी कुदायो । पुनः गाडीलाई नियन्त्रणमा लिन नपाउँदै गाडीको पैयाले रोड नजिकको ग्याबिन छोडी सकेको थियो, गाडी एकछिन अड्यो र तत्काल पल्टियो । उनले २०४३ सालमा नेपालगन्जबाट सुर्खेत आउँदै गर्दा छिन्चुको गाडी दुर्घटनाबाट पनि बचेको अनुभव सुनाए ।
त्यसैगरी शनिगाउँ– ९ रुघा गाउँका २५ वर्षीय पदम रोकायाले गाडी पल्टँदाको आफ्नै अनुभूति व्यक्त गरे । उनले भने – गाडी सुरुमा पल्टिँदादेखि आफू अत्यन्तै सचेत अवस्थामा थिएँ, गाडी एक बल्ड्याङ खान्थ्यो, अब रोकिन्छ होला भन्ने सोच्थें, फेरि पनि अर्को बल्ड्याङ खान्थ्यो, फेरि रोकिन्छ कि अब त बाँचिने भइयो सोच्थें तर पनि बल्ड्याङ खाँदै नदीको किनार पुग्यो, त्यतिबेलासम्म मेरो घाँटीको नजिकको हड्डी फुस्किसकेको छ ।
आफैँ बाहिर निस्किँदा तीन÷चार जना पानीमा चलमल गरिरहेको पनि उनले सुनाए ।
यता बड्की– २ दयारगाउँका २५ वर्षीय भैरव दमाईंले गाडीमा क्यासेटको आवाज ठूलो भएकाले कसरी खस्यो ठ्याक्कै आफैँलाई थाहा नभएको बताए । दैवले पुनर्जन्म दिएकामा उनी खुसी छन् । आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि भने राज्यले पूर्णरुपमा हेरिदिनुपर्ने दमाईंको अनुरोध छ ।
घाइते सबैले घटनाको कारण चालकको लापबाही, क्यासेट बजाउनु, गाडी चलाउँदा फोन गर्नु र तेज गतिमा चलाउनु रहेको बताएका छन् ।
महावैपाथरखोला– ७ का गोर्ख अधिकारी उपचार पछि घर गएका छन् । बड्की– ९ की १८ वर्षीय सिर्जना आचार्यलाई कोहलपुर शिक्षण अस्पताल पठाइएको छ । अहिले सात जना बिरामीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको मेडिकल डाइरेक्टर डा निरेश थापाले जानकारी दिनुभयो ।