लण्डन । बेलायतमा राष्ट्रनिर्माता श्री ५ पृथ्वी नारायण शाहको ३०२ औं जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइएको छ ।
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले १२ जनवरी शुक्रबार लण्डन सड्बरीस्थित हिमालयन क्लवमा कार्यक्रम गरेको हो ।
संगठनका अध्यक्ष भरत क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लण्डनस्थित नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनाल प्रमुख अतिथी थिइन् भने एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर, चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ) विशेष अतिथि थिए ।
कार्यक्रममा उपस्थित अतिथिहरुले राष्ट्रनिर्माता श्री ५ पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पणसहित उनको योगदान स्मरण गरे । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहकै योगदानका कारण आज नेपाल देश भनेर गर्व गर्न पाएको बताइन् । त्यस्तै एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले पनि पृथ्वी नारायण शाहले पुरयाएको योगदानको स्मरण गरे । उनले राष्ट्र निर्माताको योगदानबारे चर्चा गर्दै पृथ्वी जयन्तीमा सहभागी हुन पाएकामा आयोजकप्रति आभार व्यक्त गरे। 
कार्यक्रममा समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ) ले राष्ट्र निर्माताको योगदानबारे चर्चा गरे ।
अतिथी अर्थ व्यवस्थापनवीज्ञ बिकलचन्द्र आचार्यले ऐतिहासिक पाटो खोतल्दै गोर्खा नामाकरण, गोर्खा राज्य विस्तार आदिबारे चर्चा गरे।
पृथ्वी नारायण शाहलाई देवत्वकरण वा दानवका रुपमा चित्रित गर्न जरुरी नभएको बताउंदै उनले शाहको इतिहास जीवन्त राख्न आग्रह गरे । ‘उनको आर्थिक नीति र कूटनीति अहिले पनि उपयोगी हुनेछ’- आचार्यले स्मरण गरे ।
कार्यक्रममा बाचस्पति रेग्मी, एनआरएनए यूकेका पूर्व उपाध्यक्ष क्याप्टेन बालकृष्ण गुरुङ,गोर्खाली समाज यूकेका अध्यक्ष अशोक ढकाल, समाजसेवी हरिशिंह थापा,राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ खुस्बु ओली, खगेन्द्र पाठक बिमला थापा ,ध्रुब राज घिमिरे लगायतले मन्तव्य दिएका थिए ।
आयोजक संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष एवं कार्यक्रम संयोजक भरत रोका क्षेत्रीले पृथ्वीनारायण शाहको योगदानलाई राजसंस्थासंग मात्रै जोडेर हेर्न उपयुक्त नहुने विचार व्यक्त गर्दै बेलायतको नेपाली समुदायलाई दिवस मनाउन कन्जुस्याईं नगर्न अनुरोध गरे । उनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अब दूतावासमा मनाउन पाइयोस् भन्ने कामना पनि गरे । 
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले पृथ्वीनारायणको योगदानको स्मरण गर्दै शाहले देशमा पुर्याएको जुन योगदान छ, त्यसकारण सबै स्वतन्त्र र स्वाभिमानी नागरिक बन्न पाएका उल्लेख गरे ।
चेतमान केशीले संचालन गरेको कार्यक्रममा समाजसेवी विमलआचार्यले स्वागत मन्तव्य दिंदै पृथ्वीनारायण शाहलाई कुनै व्यवस्थासंग दांजेर मूल्याङ्कन वा विरोध गर्न जायज नहुने धारणा राखे।
यस वर्षको पृथ्वी पुरस्कार सामाजिक अभियन्ता भरत बस्नेतलाई दिइने भएको छ ।
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्री आफैंले स्थापना गरेको एक लाख रुपैयांको पृथ्वी पुरस्कार पाउने बस्नेत तेश्रो व्यक्ति हुन् ।
वर्षेनी प्रदान गरिने उक्त पुरस्कार यसअघि प्राध्यापक तथा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी (पहिलो) र राजनीतिकशास्त्रका अध्येता डा. राजेश अहिराजले पाइसकेका छन् ।
संगठनका अध्यक्ष भरत क्षेत्रीले बेलायतमा सन् २००७ देखि एक्लैले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम गर्दै आएका छन् ।
राजनीतिक संक्रमणका बेला पनि क्षेत्रीले आफ्नो एकल प्रयासमा बेलायतका वुद्धिजिवी तथा दूतावास प्रतिनिधि निम्त्याएर पृथ्वी जयन्ती गर्न छुटाएका छैनन् ।
कार्यक्रममा यहांस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।






