लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले आफ्नो पाँचौँ अधिवेसनको अवसमा ५ बरिष्ठ पत्रकारहरुलाई सम्मान गरेको छ ।
बीबीसी नेपाली सेवाका पूर्व पत्रकारहरु सुमन खरेल र भगिरथ योगी, राष्ट्रिय समाचार समितिका पूर्व प्रधानसम्पादक चिरन्जीवी पौड्याल, नेपाली टिभी यूकेका संस्थापक विजय थापा र बेलायतबाट सन् १९९० को दशकमा प्रकाशित सगरमाथा टाइम्सका सम्पादक सुरेशजंग शाहलाई यूके शाखाले सम्मान गरेको हो ।
यसबर्षको अधिवेशनको अवसरमा आयोजित एक कार्यक्रमका साथ नोपली तथा बेलायती समुदायमा पत्रकारिता गरिरहेका अग्रज पत्रकारहरुलाई सम्मान गरिएको हो ।
यसवर्ष सम्मानित हुनेहरुको छोटो परिचय
सुमन खरेल
बि.सं २०१७ सालमा काठमाडौँमा जन्मिएका पत्रकार सुमन खरेलले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एमएसम्मको अध्ययन गरेका छन् ।
विक्रम सम्वत २०४१ मा रेडियो नेपालबाट प्रसारण पत्रकारिता प्रवेश गरेका खरेलले १९९२ देखि बीबीसी नेपाली सेवामा सेवा थालेका थिए । रेडियो नेपाल, बीबीसी नेपाली सेवामा धेरै वर्ष सेवा गरेका उनले हाल बेलायतको रक्षा मन्त्रालयबाट सञ्चालित बीएफबीएस गोरखा रेडियो र नेपालको निजी क्षेत्रको अग्रणी टेलिभिजन च्यानल कान्तिपुर टेलिभिजनमा आवद्ध छन् ।
सुरेशजंग शाह
कर्णाली प्रदेश अन्तर्गत जुम्लाको बारकोटे गाउँमा जन्मिएका उनी त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा एमएसम्मको अध्ययन गरेका छन् । बेलायतमा लामो समयदेखि बसोबास गर्दै आएका शाहले पत्रकारिता मात्र नभएर साहित्यिक र राजनीतिक क्षेत्रमा पनि योगदान दिएका छन् ।
१९९२ देखि बेलायतबाट प्रकाशन हुने सगरमाथा टाइम्सबाट पत्रकारिता शुरू गरेका उनले उक्त पत्रिकामा सन् १९९६ सम्म सम्पादकको रुपमा काम गरे । सन् १९९४ देखि २००६ सम्म यतीपत्रको सम्पादक रहेको उनी सन् १९९५ देखि हालसम्म पनि लालीगुराँस साहित्यिक पत्रिकाको प्रधानसम्पादक छन् । त्यस्तै उनको सम्पादनमा सन् २००३ देखि २००४ लण्डनपोष्ट म्यागेजिन निस्केको थियो । त्यस्तै उनी सन् २००३ देखि २००६ सम्म कोसेली साँस्कृतिक म्योगेजिनको सम्पादक थिए ।
भगीरथ योगी
बीबीसी नेपाली सेवामार्फत नेपाल र नेपाली समुदायमा आफ्नो अलग पहिचान बनाउन सफल भएका पत्रकार योगीको जन्म दाङमा भएको हो । उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमए र बेलायतको द ओपन युनिभर्सिटीबाट विकास व्यवस्थापनमा एमएस्सी गरेका छन् ।
सन् १९९३ देखि स्पटलाइट साप्ताहिकमार्फत उनी पत्रकारितामा प्रवेश गरेका हुन् । तत्पश्चात उनी अंग्रेजी भाषाको नेपाली टाइम्स साप्ताहिकको वरिष्ठ समाचारदाता, बीबीसी नेपाली सेवाको प्रोड्यूसर तथा नेपालन्यूज डटकमको सम्पादक रहिसकेका छन् ।
उनी हाल साउथ एसिया टाइम्स तथा ग्लोबल नेपलिज डटकमको सल्लाहकार सम्पादक छन् भने अतिकम विकसित राष्ट्रहरुको बारेमा समाचार प्रकाशन गर्ने एलडीसी न्यूजडटकमको प्रबन्ध सम्पादकको रुपमा पनि काम गरिरहेका छन् ।
चिरञ्जीवी पौडेल
चिरञ्जीवी पौडेलको जन्म पर्वत ब्यादीमा जन्मनुभएको हो । अंग्रेजी साहित्यमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनले बेलायतको युनिभर्सिटी अफ वेष्टमिनिष्टरबाट इन्टरन्याशनल जर्नलिज्ममा स्नातकोत्तर गरेका छन् । अमेरिकाको इन्टरन्याशल भिजिटर्स प्रोगाममा पनि सहभागी भएका उनी नेपाल पत्रकार महासंघको अन्तर्राष्ट्रिय समितिमा रहेर दुईपटक काम गरेका छन् ।
नेपालको सबैभन्दा पुरानो समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) का पूर्व प्रधानसम्पादक रहेका उनी २०५० सालमा एसोसिएट एडिटरका रुपमा रासस प्रवेश गरेका थिए । त्यसपछि राससको प्रमुख समाचारदाता हुँदै उनी छोटो समयमै प्रधान सम्पादकसम्म बन्न सफल भए। पत्रकारिता यात्राका क्रममा उनले एसोसिएटेड प्रेस र एएनआइ न्यूज एजेन्सीमा पनि काम गरिसकेका छन् ।।
२००४ देखि बेलायतमा बसोबास गर्दै आइरहेका उनलाई पेशाले पूर्णकालिन अध्यापकमा रहे पनि अझै विभिन्न मिडियामा लेख लेखिरहन्छन् ।
नेपाली पत्रकारितामा करिब तीन दशकदेखि अविछिन्न रुपमा उनले पुरयाउंदै आएको सेवाका लागि नेपाल पत्रकार महासंघ यूके शाखाले सम्मान गर्न लागेको हो ।
विजय थापा
विजय थापाको जन्म रामेछाप जिल्लाको सिरुबारीमा भएको हो । नेपाल ल क्याम्पसमा आइएल अध्ययन गर्दागदै सन् १९८३ मा बेलायत आएका थापा सन् १९९२–१९९३ देखि यति नेपाली एसोसिएसन यूकेले प्रकाशन गर्ने यतीपत्रको प्रकाशन समूहमा आवद्ध भए ।
सन् १९८९ मा एसिएन रेडियो नेटवर्कमा एक घण्टाको समय किनेर उहाँले नेपाली भाषाको कार्यक्रम प्रसारण गर्न शुरु गरे। एभरेष्ट रेडियो नाम दिइएको सो रेडियो प्रसारणको शुल्क त्यतिबेला घण्टाको २५० पाउण्ड थियो । हरेक आइतबार बिहान ९ बजेदेखि १० बजेसम्म सो कार्यक्रम प्रसारण हुने गर्दथ्यो ।
उनी चौतारी म्यागेजिनको प्रकाशकको रुपमा काम गरे। नेपालमा म्यागेजिन छापेर बेलायतमा वितरण गर्ने योजनाका साथ उनी लागेका थिए तर केही ब्याबहारिक कठिनाइका कारण यो योजना धेरै टिकेन ।
त्यसपछि उनको नेतृत्वमा सन् २००५ देखि बेलायतमा पहिलोपटक नेपाली टिभीको प्रसारण आरम्भ भयो । शुरुमा कम्युनिटी च्यानल हुँदै पछि कमर्सियल च्यानलको रुपमा नेपाली टिभी संचालन गरियो । सो टेलिभिजन करिब डेढ दशकसम्म सञ्चालन भएको थियो ।
नेपालीहरुको सीमित बसोबास, सञ्चार क्षेत्रमा लगानी फिर्ता हुने सम्भावना नहुँदा पनि लगानी गरेर बेलायतमा नेपाली मिडिया सञ्चालनमा उनले देखाएको साहसको कदर गर्दै नेपाल पत्रकार महासंघ यूके शाखाले उनलाई सम्मान गर्न लागेको हो ।
महासंघ यूकेले हरेक अधिवेशनको अवसरमा पत्रकारहरुलाई सम्मान गर्दै आएको छ ।
यसअघि सन् २०१८ मा सम्पन्न चौथो अधिवेसनका अवसरमा बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, बीएफबीएस गोरखा रेडियोका पूर्व महाप्रबन्धक खेम गुरुङ, रेडियो बिजिडब्ल्यूएसका प्रबन्ध निर्देशक मेजर रिटायर्ड सोनामछिरिङ शेर्पा र गोरखा सैनिक आवाजका संस्थापक सम्पादक डा चन्द्रबहादुर गुरुङ सम्मानित भएका थिए ।
आज प्रत्यक्ष रुपमा मतदान पनि भइ महासंघ यूकेको नयाँ कार्यसमिति चयन हुँने कार्यक्रम रहेको छ । पोष्टल र प्रत्यक्ष रुपमा चुनाव गरिएको महासंघको चुनावको नतिजा आजै सार्वजनिक गर्ने तयारी छ ।






