यसरी सम्पन्न भयो पत्रकार महासंघ बेलायतको पाँचौ अधिवेशन

लण्डन । पत्रकार महासंघ बेलायत शाखाको पाँचौ अधिवेशन भर्चुअल रुपमै सम्पन्न भएको छ । कोरोनाभाइरस महामारीको कारण भौतिक रुपमा उपस्थित हुन नसकिने भएको कारण भर्चुअल रुपमै सञ्चालन गरिएको हो ।

अध्यक्ष नरेश खपाङ्गी मगरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले स्वच्छ पत्रकारले मात्र स्वस्थ पत्रकारिता गर्न सक्ने बताए । महासंघले स्वस्च्छ र स्वस्थ प्रत्रकारिताको अभियान चालेको भन्दै यसमा साथ दिन पनि आग्रह गरे ।

यस महामारीको अवस्थामा पत्रकारले निकै ठूलो भूमिका निभाएको उनले बताए ।

पत्रकारिताको कारण जनस्वास्थ्यको क्षेत्रमा ठूलो योगदान भएको भन्दै यस अवस्थामा ध्यान दिएर पत्रकारिता गर्न समेत उनले आग्रह गरे ।

उक्त अवसरमा केन्द्रीय महासचिब रोशन पुरी, केन्द्रीय प्रतिनिधि तथा यूके शाखा सल्लाहकार भागिरथ योगी, संस्थापक अध्यक्ष तथा सल्लाहकार नविन पोखरेल, पूर्वअध्यक्ष तथा सल्लाहकार चिरन शर्मा लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा केन्द्रीय महासचिब पुरी, केन्द्रीय प्रतिनिधि योगी, संस्थापक अध्यक्ष पोखरेल, पूर्वअधयक्ष शर्मा, प्रेस यूनियन यूके अध्यक्ष विपिन निरौला र फोनिज यूके अध्यक्ष प्रमिला लाबुङ राईले शुभकामना मन्तब्य दिएका छन् ।

कार्यक्रममा बरिष्ठ पत्रकारहरु बीबीसी नेपाली सेवाका पूर्व पत्रकारहरु सुमन खरेल र भगिरथ योगी, राष्ट्रिय समाचार समितिका पूर्व प्रधानसम्पादक चिरन्जीवी पौड्याल, नेपाली टिभी यूकेका संस्थापक विजय थापा र बेलायतबाट सन् १९९० को दशकमा प्रकाशित सगरमाथा टाइम्सका सम्पादक सुरेशजंग शाहलाई सम्मान सरिएको थियो ।

बरिष्ट उपाध्यक्ष श्याम लुईटेलले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन महासचिब सञ्जयभक्त कंडेलले गरेका थिए । खुला सत्र सकिएसँगै बन्द सत्र चलेको थियो ।

बन्द सत्रमा महासचिब सञ्जयभक्त कंडेलले सांगठनिक प्रतिवेदन तथा अध्यक्ष नरेश खपाङ्गीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् । कार्यक्रमको सञ्चालन उपाध्यक्ष विमला सेनेले गरेकी छिन् ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै घोषणापत्र जारी गर्नेछ ।