काठमाडौँमा एक हप्ता थपियो निषेधाज्ञाः के के खुल्ने भए ?

काठमाडौँ । राजधानी काठमाडौँमा वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञा थप एक हप्ता थपिएको छ । आइतवार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ३१ जेठमा सकिन लागेको निषेधाज्ञा थप एक हप्ता थप्ने निर्णय गरेको हो ।

कोरोनाभाइरस संक्रमणको चेनब्रेक हुन नसकेको भन्दै थप एकहप्ता लकडाउन थप्ने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।

यद्यपि संक्रमण दर कम हुँदै गएकाले थप गरिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएको उनले बताए ।

के के खुल्छन् ?

अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अलनाइन डोम डेलिभरी सेवालाई पनि सुचारु गर्ने निर्णय भएको छ ।

शैक्षिक सत्र सुरु हुने वेला भएकाले पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् ।

अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । हालै निर्माणका कार्यलाई सहजिकरण गर्न गृहमन्त्री खगराज अधिकारीले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।

कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजिकरण गर्ने निर्णय भएको पराजुलीले बताए । उनका अनुसार विभिन्न मुलुकमा जानका लागि भिसा लिने प्रयोजनमा निस्किने व्यक्तिलाई पनि सहजिकरण गर्ने निर्णय भएको छ ।

यसअघि भएका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा जोर–विजोर प्रणालीमा यातायात सञ्चालन गर्न दिने भन्नेबारे पनि कुराकानी भएको थियो । तर स्वास्थ्य मन्त्रालयले त्यो जोखिमपूर्ण हुने बताएपछि आइतबारको बैठकमा यातायातसम्बन्धी विषयले प्रवेश नपाएको बताइएको छ ।

वैशाख मध्यबाट देशका अधिकाशं जिल्लाहरुमा निषेधाज्ञा तथा लकडाउन चलिरहेका छन् ।