गण्डकीको मुख्यमन्त्रीमा काँग्रेसका कृष्णचन्द्र पोखरेल नियुक्त, को हुन् उनी ?

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि दाबी पेश गरेका थिए । तर पोखरेलको साथमा बहुमत भएको कारण उनी नियुक्त भएका हुन् ।

को हुन् कृष्णचन्द्र पोखरेल ?

नेपाली कांग्रेसको गण्डकी संसदीय दलका पोखरेल नवलपरासी पूर्व क बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । ७१ वर्षीय पोखरेल पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय छन् । उनका बुबा प्रजातन्त्र सेनानी थिए ।

२००६ साल मंसिर १३ गते तनहुँमा जन्मेका पोखरेल २०२८ सालबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन् । थर पोखरेल भए पनि उनी नामपछाडि ‘नेपाली’ लेख्ने गर्छन् । उनी विभिन्न आन्दोलनमा ५-६ पटक जेल परेका छन् ।

उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् । २०४८ सालपछि उनी लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भएका थिए । कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने ।

२०७० सालको प्रतिनिधिसभा चुनावमा नवलपरासी क्षेत्र नं. ३ बाट चुनाव लडेका उनी २ सय २५ मतले हारेका थिए । २०७४ सालको प्रदेश सभा निर्वाचनमा एमाले-माओवादी गठवन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतल पराजित भई पोखरेल गण्डकी प्रदेशसभामा निर्वाचित बनेका थिए ।