लन्डन । गोर्खा अभियन्ताहरुको १३ दिन लामो आमरण अनशन टुंग्याउन गरिएको सहमति बमोजिम त्रि-पक्षीय वार्ताको तयारीका लागि यहाँस्थित नेपाली दूतावासमा एक बैठक बसेको छ।
लन्डनस्थित नेपाली दूतावासका अनुसार बुधबार दूतावासमा बेलायत सरकारका रक्षामन्त्री बेन वालेस, रक्षा राज्यमन्त्री लियो डकर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र भूतपूर्व गोर्खाका प्रतिनिधिहरु समेतको सहभागितामा तयारी बैठक सम्पन्न भएको छ ।
बैठकमा गोर्खाहरुको माग सम्बोधनका लागि आउँदो डिसेम्बरमा गरिने वार्ताको तयारीका बारे छलफल भएको दूतावासले जनाएको छ ।
विगतमा भएको सहमतिअनुसार वार्ता समितिहरुको गठन, वार्ता समितिको टर्म्स अफ रेफरेन्स र आवश्यक तयारीका विषयमा छलफल गरिएको दूतावासद्वारा जारी वक्तव्यमा जनाइएको छ ।
बैठकमा गोर्खाहरुको माग सम्बोधनका लागि आउँदो डिसेम्बर महिनाभित्रै शुरु गर्ने भनिएको वार्ताको तयारीका विषयमा छलफल भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
बैठकमा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसो सभापति कृष्णकुमार राई, बिजिडब्लुएसका अध्यक्ष टिकेन्द्र दल देवान, नेसा अध्यक्ष केशबहादुर गुरुङ, गोर्खा पेन्सन इन्जस्टिस ग्रुपका अध्यक्ष उदयबहादुर गुरुङ, युबिजिइएनका अध्यक्ष राम राई, गोर्खा सत्याग्रह समितिका प्रवक्ता जुद्धबहादुर गुरुङ तथा गत महिना आमरण अनसनमा बस्ने गोर्खा सत्याग्रहका अभियन्ताहरु ज्ञानराज राई, धन गुरुङ र पुष्पा राना घले सहभागी थिए ।
दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र सैनिक सहचारी रत्नबहादुर गोदारको पनि बैठकमा सहभागिता थियो।
नेपाल सरकारले समान पेन्सन लगायतका आफ्ना मागहरु सम्बोधन गर्न एक वार्ता समिति गठन गरेर मिति समेत तोक्नु पर्ने माग गर्दै गोर्खा अभियन्ताहरुले १३ दिन लामो अनशन गरेपछि ब्रिटिश सरकार वार्तामा बस्न तयार भएको थियो।
यस्तै लण्डनस्थित नेपाली दूतावासले पनि उक्त भेट र छलफलबारे जानकारी दिदै एक प्रेस बक्तब्य जारी गरेको छ ।
दूतावासले जारी गरेको प्रेस विज्ञप्ती जस्ताको तस्तैः







