सिंहदबारबाट सर्‍यो प्रधानमन्त्री कार्यालय

कुन-कुन मन्त्रालय कहाँ सर्ने ? (सूचीसहित)

Singha-Dhubar

  • भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मुख्य भवन

१ जेठ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारको ऐतिहासिक भवनबाट सर्ने निश्चित भएको छ ।

अब प्रधानमन्त्री कार्यालय हालको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय रहेको नयाँ भवनमा सर्ने भएको छ । प्रधानमन्त्रीका सल्लाहकारका कार्यालय सरिसकेका छन् ।

प्रधानमन्त्री कार्यालय स्थानीय विकास मन्त्रालयको भवनमा सर्ने निश्चित भए पनि सबै सचिवसँग समन्वय गरेर अन्य मन्त्रालयको पनि व्यवस्थापन भइरहेको प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले बताए ।

‘धेरै मन्त्रालय भूकम्पबाट क्षतिग्रस्त भएकाले सार्नुपर्ने अवस्था छ, सबै सचिवसँग समन्वय गरेर उपयुक्त ठाउँमा सबैलाई मिलाएर राख्नु भन्ने आदेश मुख्य सचिवले दिनुभएको छ,’ सुवेदीले अनलाइनखबरसँग भने ।

कुन मन्त्रालय कहाँ ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालय स्थानीय विकास मन्त्रालय भवनमा सरेपछि अब स्थानीय विकास मन्त्रालय शान्ति तथा पुनर्निर्माण मन्त्रालयको भवनमा सर्नेछ ।

शान्ति मन्त्रालयलाई भने कानुन मन्त्रालयको २ फ्ल्याटमा व्यवस्थापन गरिने भएको छ । भूकम्पबाट क्षतिग्रस्त भएको युवा तथा खेलकुद मन्त्रालय भवन अब जल तथा उर्जा आयोगको सचिवलय भएको ठाउँमा राखिने भएको छ ।

त्यस्तै श्रम तथा रोजगार मन्त्रालयलाई पर्यटन मन्त्रालय भवनमै व्यवस्थापन गरिने सुवेदीले बताए । रक्षा मन्त्रालय यसअघि नै सुरक्षा परिषद सचिवालयमा सरिसकेको छ ।

सामान्य प्रशासन मन्त्रालय भने मर्मत गरेपछि बस्न मिल्ने सुझाव आएकाले अहिले नै अर्को व्यवस्था नगरिएको सचिव सुवेदीले बताए ।