काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसदमा सरकारको आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम गरिन् ।
राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा भारतीय, चीनियाँ राजदुतलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रमको प्रति राष्ट्रपति भण्डारीसमक्ष पेस गरेका थिए ।
मन्त्रिपरिषद्का जेठ ७ गतेको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो ।
यस वर्षको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयनसहित सङ्घ र प्रदेशसभाको निर्वाचन तथा राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकता दिइएको छ ।
नीति तथा कार्यक्रममा दिगो आर्थिक वृद्धि, स्वरोजगार, उज्यालो नेपाल अभियान जस्ता विषयहरु समेटिएका छन् ।
निर्वाचन आचारसंहिता लागू भएकाले सरकारले यस वर्षको नीति तथा कार्यक्रममा नयाँ योजना नभई गत वर्षका कार्यक्रमलाई नै निरन्तरता दिएको छ ।
प्रधानमन्त्री दाहालले आफ्नो पदबाट राजीनामा गरेको भोलिपल्ट राष्ट्रपति भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
सदनमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको साथ र सहयोगमा नेकपा एमाओवादी केन्द्रका अध्यक्ष दाहालले आफ्नो नेतृत्वमा २०७३ साउन २० गते नयाँ सरकार गठन गरेका थिए ।
वर्तमान सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन अघि नयाँ कार्यक्रम नल्याउने र विगतका कार्यक्रमलाई नै निरन्तरता दिने जानकारी दिइसकेको छ ।






