चेल्सी र लिभरपुर पराजित

काठमाडौं, १३ भदौ ।  इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा साविक विजेता चेल्सीले आफ्नो खराब प्रदर्शन जारी राखेको छ । शनिबार राती सम्पन्न खेलमा क्रिष्टल प्यालेससँग २–१ ले पराजित हुँदै चेल्सीले जारी लिगमा चार खेल खेल्दा २ खेलमा पराजय बेहोरेको हो । चेल्सीको मैदान स्टामफर्डब्रिजमा क्रिष्टल प्यालेसलाइ बिजयी गराउन साको र वार्डले १–१ गोल गरे ।
चेल्सीका लागी राडामेल फल्काओले गोल गर्दै पराजय टार्न खोजे पनि अन्य गोल हुन नसक्दा हार टरेन । प्रिमियर लिगअन्तर्गतनै शनिबार राती सम्पन्न अर्को खेलमा उपाधि दाबेदार लिभरपुलले जारी लिगमा पहिलो हार बेहोरेको छ । घरेलु मैदान एन्फिल्डमा सम्पन्न खेलमा लिभरपुल वेष्टहाम युनाइटेडसँग ३–० गोलको फराकिलो अन्तरले पराजित भएको हो ।
उता लिगमा अर्को उपाधि दाबेदार म्यान्चेष्टर सिटीको बिजयी यात्रा भने जारी छ । सिटीले वार्टफोर्डलाइ २–० ले पराजित गर्दै लिगमा लगातार चौथो जित दर्ता गरेको हो । खेलमा सिटीलाई विजयी गराउन राहिम स्टर्लिङ र फर्नान्डीन्होले १–१ गोल गरे । यस्तै, १० खेलाडीमा सिमित न्युकासल युनाइटेडलाई १–० को साँघुरो अन्तरले पराजित गर्दै अर्को उपाधि दाबेदार आर्सनल पनि आफ्नो खेलमा विजयी भएको छ ।
प्रिमियर लिग अन्तर्गत आइतबार राती नै भएका अन्य खेलमा वेष्टब्रोमविच आल्बियनले स्टोक सिटीलाई १–० ले पराजित गर्दा टोटनह्याम हट्स्पर र एभर्टन, एस्टोन भिल्ला र सनडरल्याण्ड तथा लेष्टर सिटी र ए.एफ.सि बोर्नमाउथले बराबरी खेल्दै अंक बाँडेका छन् । प्रिमियर लिगमा आइतबार नेपाली समय अनुसार साँझ सवा ६ बजे साउथ ह्याम्पटन र नर्विच सिटी भिड्दा राती पौने ८ बजे उपाधि दाबदार म्यानचेष्टर युनाइटेडले स्वान्सी सिटीसँग प्रतिस्पर्धा गर्दै छ ।