१ सय गोल पुरा गर्ने दोस्रो खेलाडी बने पोर्चुगल स्टार रोनाल्डो

काठमाडौँ ।
राष्ट्रिय टोलीबाट १ सय गोल गर्नेको बरियतामा पोर्चुगल स्टार क्रिस्टियानो रोनाल्डो दोस्रो खेलाडी बनेका छन् । यसअघि इरानका अली डाईले आफ्नो राष्ट्रिय टोलीका लागि १०९ गोल गरेका छन् ।
बुधबार युरोपियन नेशन्स लिग अन्तर्गत स्वीडेन विरुद्धको खेलमा ४५औं मिनेटमा फ्रिकिक मार्फत गोल गरेर राष्ट्रिय टिमबाट क्रिस्टियानो रोनाल्डोले १ सय गोल पुरा गरेका हुन् भने ७२औं मिनेटमा पुनः गोल गर्दै १०१ गोल पु¥याएका छन् । इरानका अली डाइको १०९ गोलको विश्व रेकर्ड अब क्रिस्टियानो रोनाल्डोले तोड्न सक्ने सम्भावना प्रचुर मात्रामा देखिएको छ ।
क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय खेल जगतमा राष्ट्रिय टोलीबाट खेल्दा ६ पटक ह्याट्रिक गरेका छन् भने युरोपियन च्याम्पियनमा ३१ र विश्वकप छनौटमा ३० गोल गरेका छन् । आफ्नो राष्ट्रिय टिमका लागि गोल गर्ने खेलाडीको वरियतामा भारतका सुनिल क्षेत्रीले ७२ गोल गर्दै तेस्रो स्थानमा छन् भने अर्जेन्टिनाका लियोनल मेस्सीले ७० गोल गर्दै चौंथो स्थानमा रहेका छन् ।