लण्डन । बेलायतमा कोरोना नियन्त्रणका लागि आगामी १४ सेप्टेम्बरबाट ६ जना भन्दा बढीको सामाजिक जमघट गर्न नपाईने भएको छ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कडाइको तयारी सहितको प्रतिबन्ध लगाउने भएको हो ।
प्रधानमन्त्री कार्यालय १० डाउन स्ट्रिटकाअनुसार पछिल्ला दुई दिनमा कोरोना संक्रमितको संख्या तीन हजारको हाराहारीमा पुगेपछि ६ जना भन्दा बढीको जमघटलाई गैरकानूनी घोषणा गरेको विविसीले जनाएको हो ।
दिनानुदिन कोरोना भाईरस (कोभिड-१९) संक्रमितको संख्या बढेपछि बेलायत सरकारले कडा कदम चाल्दै आउंदो सोमबार सेप्टेम्बर १४ देखि सामाजिक जमघट गर्न रोक लगाइने घोषणा गरेको छ । प्रधानमन्त्री कार्यालयकाअनुसार यो प्रतिबन्ध घरभित्र र बाहिर सवै क्षेत्रमा लागु हुनेछ । यो नियम पालना नगर्नेलाई प्रहरीले कम्तिमा १ सय पाउण्डदेखि देखि बढीमा बत्तिस सय पाउण्डसम्म जरिबाना गर्न सक्छ ।
तर त्यो प्रतिबन्ध विद्यालय, कार्यक्षेत्र, कोरोना सुरक्षित विवाह, अन्तिम दाहसंस्कार र व्यवस्थित खेलकुदमा भने यो लागु हुने छैन ।
सामाजिक जमघटमाथिको रोकसम्बन्धी यो नियम लागू र छुट हुने क्षेत्रहरुबारेको थप विवरण सरकारले केही दिनमै सार्वजनिक गर्नेछ ।






