विधानमा यस्तो सहमति : महासमिति बैठकको ८ दिनपछि विधान दिँदै काँग्रेस

काठमाडौँ- नेपाली काँग्रेसको विधान मस्यौदा आज महासमिति सदस्यहरुलाई वितरण गरिने भएको छ ।

विधान संशोधनमा सहमति जुटेपछि विधान मस्यौदा समितिको प्रतिवेदन संयोजक पूर्णबहादुर खड्काले शनिबार बस्ने महासमिति बैठकमा पेश गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य धनराज गुरुङले जानकारी दिए । उनका अनुसार अहिले विधान छपाइको काम भइरहेको छ ।

शुक्रबारको बैठकबाट कांग्रेसको केन्द्रीय बैठकले शीर्ष नेताहरुबीच पदाधिकारी र सदस्यको संख्या तथा निर्वाचन प्रकृयामा भएको नयाँ लिखित सहमति सर्वसम्मतिले पारित गरेको थियो । शीर्ष नेताहरुबीच भएको सहमतिलाई शुक्रबार अपरान्ह बसेको केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिएको थियो ।

जसमा केन्द्रीय एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, एक कोषाध्यक्ष र एक प्रवक्ता गरि १५ सदस्यीय पदाधिकारी हुने छन् ।

त्यसैगरी कोषाध्यक्ष र प्रवक्ता निर्वाचित केन्द्रीय सदस्यमध्यबाट पार्टी सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिको बहुमतले निर्वाचित गर्ने निर्णयसमेत गरेको छ । यससँगै केन्द्रीय समिति १७१ जनाको हुने भएको छ । जसमा पार्टी सभापतिले २० प्रतिशत मनोनितबाट ल्याउने छन् ।

जसमा आठै जना सहमहामन्त्री संविधानले निर्धारण गरेको कलस्टर खस आर्य, आदिवासी जनजाती, महिला, मधेसी, दलित, थारु, मुस्लिम, अल्पसंख्यक र पिछडिएको समूहअनुसार महाधिवेशनबाट प्रत्यक्ष रुपमा निर्वाचित भएर आउने व्यवस्था गरिएको छ ।

मंगलबार ८ पदाधिकारीमा भएको सहमति उल्टिएपछि शुक्रबार यस्तो लिखित सहमति गरिएको हो । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्ण सिटौलाबीच भएको छलफलबाट यस्तो सहमति भएको हो ।

संविधानको धारा ४२ मा सामाजिक रूपले पछाडि परेका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, मधेशी, थारू, अल्पसंख्यक, अपांगता भएका व्यक्ति, सीमान्तीकृत, मुस्लिम, पिछडा वर्ग, लैंगिक तथा यौनिक अल्पसंख्यक, युवा, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिकरूपले विपन्न खस आर्यलाई समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुने उल्लेख छ । कांग्रेसले यही धारालाई आधार मानेर आठ वटा कलस्टरमा सहमहामन्त्री बनाउने निर्णय गरेको छ ।

साथै पौडेलमुहले सबै छाडेर पदाधिकारी निर्वाचित भए पुग्छ भन्ने लाइनमा पुगेपछि देउवा पादधिकारी बढाउन राजी भएका हुन् । पौडेसमूहले संसदीय समिति र अनुशासन समिति पनि निर्वाचित हुनुपर्ने अडानबाट पछि हटेको थियो ।
अब संसदीय समितिमा पदाधिकारी र ११ जना मनोनित हुनेछन् भने अनुशासनमा सममिति पनि मनोनयनबाटै आउने व्यवस्था गरिएको छ ।

मंगलबार शीर्ष नेताहरुले आठ पदाधिकारी बनाउने सहमति गरे पनि पदाधिकारीमा समावेशीता नभएको भन्दै देउवानिकट केन्द्रीय सदस्यले विरोध जनाएपछि उक्त सहमति पारित हुन सकेन ।

जसकारण महासमिति दुई दिनसम्म अन्योलमा परेको थियो । यो पदीय भागबन्डा गुटगत झगडा चर्किएपछि मंसिर २८ देखि पुष ४ गतेसम्म समापन गर्ने गरि बसेको महसमिति बैठक ४ दिनपछि (आइतबार) समापन हुने भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । नेपाली कांग्रेसको सदस्यता र क्रियाशील सदस्यता हुने व्यवस्था गरिएको छ ।

नेपाली कांग्रेसको सदस्यता साधारण प्रकृतिको सदस्यता हो भने क्रियाशील सदस्यताका लागि निश्चित मापदण्ड पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

२०६६ मा संशोधित विधानअनुसार काँग्रेसमा हाल ८५ सदस्यीय केन्द्रीय कार्यसमितिमा सभापतिसहित एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित हुने तथा एक उपसभापति एक महामन्त्री एक सहमहामन्त्री र एक प्रवक्ता सभापतिले मनोनित गर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *