मुलुकले व्यहोरेको दश वर्षको सशस्त्र द्वन्द्वले समाजमा पारेको आतंकित अवस्थासँगै सतिप्रथाका कारण महिलले भोग्नु परेको कष्टपूर्ण अवस्थाको चित्रण गरिएको नेपाली चलचित्र हो – झोला । ज–जसले उक्त चलचित्र हेरे उनीहरु कुनै न कुनै बेला भावुक मात्रै बनेन् आँशु समेत चुहाउने अवस्थामा पुगेको चलचित्र निर्माण पक्षले बताउँदै आएको छ ।

२०७० सालमै प्रदर्शनमा आएको उक्त चलचित्र फेरि भोलि (शुक्रबार) बाट केही हल मार्फत प्रदर्शनमा ल्याउन लागिएको छ । यसअघि बुधबार काठमाडौंको कुमारी हलमा गरिएको ‘प्रि–मियएर सो’ सहभागीहरु मध्ये अधिकांसको आँखा रसाएका थिए । चलचित्र हेरेर निक्लिने क्रममा एक बृद्धाले आफ्नो आँसु रोक्न सकिनन् । रुँदै उनले भनिन्, ‘अघि मात्रै होइन अहिले पनि महिलामाथि सबैले थिचोमिचो गर्छन् । दुःख दिन्छन् ।’
झोला निकै राम्रो रहेको भन्दै ति महिलाले महिलामाथि हुने गरेको व्यवहार देखाउँदा चलचित्र हेरिरहँदा आँसु बगिरहेको बताइन । यादव भट्टराईको निर्देशनमा रहेको उक्त चलचित्रमा देशभक्त खनाल, दीपक क्षेत्री, प्रल्हाद खतिवडा, गरिमा पन्त, लक्ष्मी गिरी, गीता नेपाललगायतको अभिनय छ । कथाकार कृष्ण धरावासीको उपन्यासमा आधारित झोलाले सती प्रथाको अवस्था र नारी बेदनालाई समेटेको छ ।






