केही समय अघि मात्रै बजारमा आइफोन सिक्स र सिक्स प्लस ल्याएकोे एप्पल कम्पनीले आइफोन सेभेन पनि ल्याउने तयारी गरिरहेको छ । एप्पलको यो योजनासँगै आइफोन प्रयोगकर्तामा भने आइफोन सेभेनका बारेमा चासो र उत्सुकता बढेको छ । अहिले आइफोन सेभेनको डिजाइन तथा त्यसमा समावेश गरिने नयाँ सुविधाका बारेमा तयारी गरिरहेको एप्पलले जनाएको अन्र्ताष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । एप्पलको उक्त योजना अनुसार डिजाइनर एन्टोनियो डि रोजाले आइफोन सेभेनको अवधारण सार्वजनिक गरेका छन् ।

डिजाइनर रोजाले प्रस्ताव गरेको आइफोन सेभेनमा टच स्क्रिनको विकल्पमा डिजिटल क्राउन समावेश गरिएको छ । औंलाले स्क्रिनलाई नछोइकन क्राउनको सहायताले जुम इन र आउट तथा इस्क्रोल गर्न सकिनेछ । क्राउनमा टच आइडी तथा सेन्स वटन हुने भएकाले प्रयोग गर्न सजिलो हुने डिजाइनर रोजाले दाबी गरेका छन् । प्रस्तावित डिजिटल क्राउनमा एकीकृत टच आइडी सेन्सरका साथै होम बटन फङसन पनि हुनेछ ।
यस्तै प्रयोगकर्ताले एकै हातले आइफोन प्रयोग गर्न सहज होस् भन्ने हेतुले फोनको लम्बाइ केही घटाइने छ । ५ दशमलव ५ इन्चको स्क्रिन रहने आइफोन सेभेनको मोटाइ जम्मा ६ दशमलव ९ एमएम मात्र हुनेछ, जुन आइफोन सिक्स भन्दा पनि पातलो हो । यदि यो डिजाइन एप्पलले स्वीकृत गरे डिजिटल क्राउन भएको पहिलो स्मार्टफोन हुनेछ ।






