एनआरएनए ओसनिया महिला विभागले यसरी मनायो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ ओसनिया महिला विभाग जानकी रिमाल पौडेलको संयोजकत्वमा विभाग अन्तर्गतका महिला बडीहरुसंगको समन्वयमा पहिलो पटक यस प्रकारको कार्यक्रम सम्पन्न गरिएको हो । सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि संयुक्त राष्ट्रसंघको आह्वानमा १६ दिने अभियान मनाउन थालिएको हो । अन्तराष्ट्रिय मानवधिकार दिवसको अवसरमा पारेर १० डिसेम्बरमा उक्त कार्यक्रमको विश्वव्यापी रुपमा समापन गरिएको छ ।


नोभेम्बर २५ देखि शुरु गरिएको अभियान अन्तर्गतको कार्यक्रम नोभेम्बर ३०मा विधिवत रुपमा उदघाटन गरिएको थियो । उदघाटन सत्रमा अष्ट्रेलिया सरकारका सचिव , विपक्षी दलका छाँया सरकारका  प्रतिनीधि जोडी  मकये को उपस्थिती रहेको थियो भने नेपालबाट पूर्व मन्त्री दिना उपाध्यय, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल, एनआरएनए आइसीसी अध्यक्ष कुमार पन्त, प्रमुख संरक्षक शेष घले, एनआरएनए आइसीसी उपाध्यक्ष मना केसी, एनआरएन अष्ट्रेलिया फाउन्डर सदस्य  इन्द्रा बन, एनआरएन अष्ट्रेलिया अध्यक्ष केशव कंडेल, प्रबक्त्ता नन्द गुरुङ, न्यू साउथ वेल्स् राज्य परिषद संयोजक देब गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

संयोजक पौडेलका अनुसार कार्यक्रम समावेशी बनाउने प्रयास स्वरुप दोस्रो पुस्ता अर्थात युवाहरुले हिंसा विरुद्धको अभियानमा विशेष प्रस्तुती दिएका थिए । घरेलु हिंसा, लैङ्गिक हिंसा तथा कुनै पनि किसीमका विभेदरहित समाज निर्माण गर्ने उद्धेश्य स्वरुप विभिन्न तह र तप्काका व्यक्तित्वहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।  त्यस्तै बर्षाैदेखि लैङ्गिक हिंसा विरुद्धको अभियानमा काम गरिरहेको ह्वाइट रिबन, एओएस, सिल्भर सिस्टर प्रोडक्सन यूकेको तर्फबाट पनि कार्यपत्र प्रस्तुत गरिएको थियो ।


विहिबार गरिएको समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एनआरएनए पूर्वअध्यक्ष तथा संरक्षक शेष घलेले लैङ्गिक हिंसा नेपालीहरुको मात्र मुद्धा नभएर संसारभरकै समस्या भएको भन्दै महिलाहरुको मात्र नभएर हरेक पुरुष, हरेक परिवारका सदस्यले न्यूनिकरणमा एकबद्ध हुनुपर्नेमा जोड दिएका छन् । हाल नेपालमा भइरहेका घटनाहरुको तथ्याङ्क र विश्वका विकसित मूलूकहरु संगकोे तथ्याङ्कसंग तुलना गरेर नेपालीहरुमा भइरहेको हिंसा न्यूनिकरणमा नयाँ योेजना लिनुपर्ने भन्दै हिंसा अन्त्यको निम्ती एनआरएनएले सबै नेपाली समुदायतथा संघसंस्थासंग समन्वय गरी अघि बढ्ने बताए ।


एनआरएनए आइसीसी उपाध्यक्ष मना केसीले हिंसा सबै लिङ्गका व्यक्तिहरुमा भइरहेको भन्दै उनले हिंसामा परेका व्यक्तिहरुलाई नेतृत्वमा जान प्रोत्साहन गर्नुपर्ने बताए । उनले एनआरएनएको पनि विधानमा संशोधन गरेरै भएपनि महिलाहरुलाई नेतत्वमा ल्याउनेपर्ने बताए ।आइसीसी महासचिब डा. हेमराज शर्माले एनआरएनएले पनि लैङ्गिक हिंसा विरुद्धको निम्ती आफ्नो छुट्टै कार्यक्रम बनाउनुपर्नेमा जोड दिए । महिलालाई नेतृत्वमा ल्याउनको निम्ती एनआरएनएले कहाँ परिवर्तन गर्नुपर्छ सल्लाह सुझाव दिन आग्रह गर्दै कार्यक्रमको निचोड लाई कार्यान्वयनमा ल्याउन प्रयास गरिनेबताए । “महिलाहरुलाई नेतृत्वमा ल्याउने कुरा गर्दैगर्दा अबको ध्यान दोस्रो पुस्ताका महिलाहरुमा दिनुपर्छ, जसले गर्दा नयाँ विचारहरुको प्रवाह हुन्छ, नयाँ कुराको उदय हुन्छ ।”उनले भने ।

ओसनिया क्षेत्रीय संयोजक होम पाण्डेले लिङ्गको आधारमा विशेष गरी महिलाहरु नै बढी पीडित भएको भन्दै हाल विश्वमा हरेक ४ जना महिला मध्ये एक जना महिलाले हिंसा भाग्नुपरेको तथ्याङ्क रहेको बताए । हरेक देशले यसप्रकारको हिंसालाई बर्जित गरेको भन्दै उनले कानुनमा हिंसा गर्न नपाइने भनिएपनि व्यवहारमा लागू नभएको बताए ।


एनआरएनए ओसनिया महिला विभाग प्रमुख जानकी रिमाल पौडेलले हाल हरेक क्षेत्रमा लैङ्गिक हिंसा भइरहेको बताइन् । “राजनीति, धर्म संस्कृति, जात, लिङ्ग लगायतका आधारमा समाजमा धेरै किसीमका हिंसाहरु भइरहेका छन् “उनले भनिन्, “यहि हिंसा विरुद्धको १६ दिने ग्लोवल अभियानमा ऐक्यवद्धता जनाउने गरी भर्चुअल रुपमै कार्यक्रम गर्याैँ ।”

यसपटकको १६ दिने अभियानमा महिला स्वतन्त्रता, सम्मान, समानता र शसक्तिकरणको विषयमा केन्द्रित भई कार्यक्रम गरिएको बताइन् । उनले हिंसा न्यूनिकरणको उपाय अधिकार माग्नु मात्र नभएको भन्दै यसको निम्ती अन्य धेरै उपायहरु रहेको बताइन् ।


अन्तराष्ट्रिय सम्योजक समीति गैरआवासीय नेपाली संघकी उपादक्ष्य तथा महिला तथा युबा बिभाग प्रमुख रविना थापाले लैङ्गिक हिंसा विश्वव्यापी मुद्धा भएपनि नेपालमा बढी समस्या रहेको भन्दै समाजभित्र धेरै हिंसा भएपनि तिनीहरुलाई भित्रभित्रै दवाइएको बताइन् । गत २०१५ मा धेरै मानवबेचबिखनका घटनाहरु भएको भन्दै सरकार देखि नागरिक समाज जुट्नुपर्ने बेला आएको बताइन् । हाल महामारीको समयमा पनि धेरै महिलाहरुले यसप्रकारका हिसाहरु बढेको उनको भनाई छ । एनआरएनए अष्ट्रेलिया संस्थापक इन्द्रा वनले महिला हिंसा अन्त्यको निम्ती सबैले आफ्नो आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताइन् ।

एनआरएनए अष्ट्रेलिया अध्यक्ष केशव कंडेलले हिसा गर्ने व्यक्तिलाई छुट दिने बानीले पनि हिंसा न्यूनिकरणमा चुनौति थपिएको बताए । भिडियो लाइभ गरेर नै घरमा महिला तथा छोरीलाई हिंसा गरेका घटना समेत बाहिर आएका भन्दै उनले पीडकलाई कुनैै पनि हालतमा छुट दिन नहुने बताए । अष्ट्रेलियामा कुनै पनि संघसंस्थामा एउटै लिङ्गको व्यक्तिले २ पटक भन्दा बढी नेतृत्व गरेको अवस्थामा तेस्रो पटकको नेतृत्व नेतृत्व अर्काे लिङ्गीय व्यक्तिले गर्ने प्रणाली रहेको भन्दै एनआरएनएमा पनि यसखालको व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।

एनआरएनए न्यूजिल्याण्ड अध्यक्ष लाल केसीले एनआरएनए महिला विभागले गरेको यसप्रकारको कार्यक्रम प्रति धन्यवाद तथा बधाई दिदै यसप्रकारका हिंसा नियन्त्रण गर्नको निम्ती एनआरएनएका सबै बडीसंग समन्वय गर्नुपर्ने बताए । उनले सचेतना तल्लो तहसम्म नपुगेको खण्डमा अभियान प्रभावकारी हुन नसक्ने बताए ।

एनआरएनए पपुवा न्यू गिनियाका अध्यक्ष मोहन पन्तले पछिल्लो समयमा महिला मात्र नभएर पुरुषहरुले पनि यातनाहरु सहनुपरेको धारणा राखे । उनले १६ दिन मात्र नभएर हरेक दिन नै लैङ्गिक हिंसा विरुद्धको अभियान चलाइनुपर्ने बताए ।

दुई दिन अघि यसै कार्यक्रमको अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले सम्बोधन गरेका थिए । महिला शसक्तीकरण भन्नाले महिलाहरुले आफु र समुदायको निम्ती आफै निर्णय गर्न सक्ने भन्ने बुझाउने भन्दै उनले हामी सकारात्मक सोँचले अघि बढेको समयमा अपेक्षा गरेको भन्दा पनि राम्रो नतिजा ल्याउन सक्ने बताएका थिए । “समस्यामा भन्दा पनि अघि बढ्ने कुरामा सोचौँ, समस्याहरुमै अल्झिनु हुँदैन ” उनले भने, “शसक्तीकरण दुई किसिमको हुन्छ, एउटा भित्री र अर्काे बाहिरी । जब हामी भित्रै बाट शसक्त हुँदैनौँ, तब जम्म हामी बाहिर केही पनि गर्न सक्दैन । ”

उनले परिस्थिती अरुले नबदलिदिने भएकोले हामी आफै बदल्नु पर्ने भन्दै मानिसको ब्रेन पनि खाम जस्तै बन्द भएको र त्यसलाई खोल्नु भनेकै शसक्त, वा विकास हुनु भएको बताए । हाल समुदायले नारीलाई हामी देवी शक्ति भनने तर व्यवहारमा त्यसलाई सम्मान गर्न नजानेको बताए ।
अष्ट्रेलिया स्थित नेपाली समुदायहरुको प्रतिनिधिमूलक संस्था फेनकाका अध्यक्ष डा. राजु अधिकारीले एनआरएनए र महिला फोरम संघ काम गर्न सकिन्छ भन्ने बारे कार्यपत्र प्रस्तुत गरे ।माइग्रेसन विभागका प्रमुख डा. राजन अधिकारीले मध्यपूर्वी देशमा रहेका नेपालीहरु धेरै नै प्रताडीत भएको र त्यसको लागि एनआरएनएले पहल गर्नुपर्ने बताए ।

विगतका बर्षहरुमा भव्य रुपमा कार्यक्रम गर्ने गरिएको भएपनि यस बर्ष कोेरोनाभाइरस महामारीको कारण अनलाईन बाटै कार्यक्रम सम्पन्न गरिएको होे । नोभेम्बर २७ २८ र २९ सामाजिक सञ्जालबाट भिडियो पोष्टर सन्देश प्रशारण गरिएको थियो । विहिबार सम्म भएका हरेक कार्यक्रम सिड्नी समय अनुसार साँझ साढे ६ देखि साढे ८ बजेसम्म सञ्चालन गरिएको थियो । समुदाय तथा नीति निर्माणको तहमा महिलाकोे नेतृत्व कायम गर्न, अहिले सम्म हुँदै आएका लिङ्गको आधारमा गरिने भेदभाव अन्त्य गर्न यस कार्यक्रम महत्वपूर्ण भएको कार्यक्रम संयोजक रिमालले जानकारी दिइन् । एनआरएनए ओसनियाका महिला विभागको संयोजक जानकी रिमाल पौडेलको नेतृत्वमा गरिएको कार्यक्रममा एनआरएनए अष्ट्रेलिया आइसीसी सदस्य डा. बसुन्धारा भट्टाइ, एनआरएनए न्युजिल्याण्ड आइसीसी सदस्य विद्या बस्नेत, एनआरएनए न्यूजिल्याण्ड महिला विभाग एनसीसी संयोजक अनिता पाण्डे, एनआरएनए एनसीसी महिला विभाग संयोजक सन्ध्या शाह, न्यू साउथ वेल्स राज्य महिला विभाग संयोजक मोनि लिम्बू, भिक्टोरिया संयोजक काजल भण्डारी, साउथ अष्ट्रेलिया संयोजक मन्जु खड्का, एनआरएनए भनौतु महिला संयोजक हर्षना श्रेष्ठ, आइसीसी सदस्य सोनम लामा, तथा एनआरएनए पिएनजी एनसीसी अध्यक्ष मोहन पन्त र महिला विभाग प्रमुख दुर्गा भट्टले आफ्नो कार्यक्षेत्रको नतृत्व गरेका थिए ।

विहिबारको समापना समारोहमा अन्तराष्ट्रिय सम्योजक समीति गैरआवासीय नेपाली संघकी उपादक्ष्य तथा महिला तथा युबा बिभाग प्रमुख रविना थापारविना थापाको अध्यक्षता रहेको थियो भने एनआरएनए अष्ट्रेलिया नारी निकुञ्ज सचिब सुकीर्ति भट्टले सञ्चालन गरेकी थिइन् ।