लण्डनमा दुर्घटनामा परेका गुल्मीका पण्डित काफ्लेको निधन

लण्डन । नेपालको गुल्मी मुसिकोट नगरपालिका ७ वामीटक्सार पुर्ख्यौली घर भएका ६४ वर्षीय पण्डित दधिराम काफ्लेको बिहीबार नारायणगढस्थित आफ्नै निवासमा निधन भएको छ । गत बर्ष अगष्टमा लण्डनमा गाडीको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए ।

दुई दिन अघिदेखि श्वासप्रश्वासमा समस्या आएको कारण उनलाई अस्पताल भर्ना गरिएको थियो । तर चिकित्सकले लामो प्रयास गर्दा पनि बचाउन भने सकेनन् ।

उनलाई गत २०१९ मार्च २ गते पशुपतिनाथ मन्दिरमा बिहानको आरती गर्न प्लमस्टिड हिंडेको अवस्थामा बाटो काट्ने क्रममा भ्यानले ठक्कर दिएको थियो ।

लण्डन वुल्वीच आर्सनलमा रोयल मेलको भ्यानले ठक्कर दिएपछि गम्भीर घाइते बनेका पण्डित काफ्लेलाई टाउकोमा गम्भीर चोट लागेको थियो । तत्कालै एअर एम्बुलेन्स मार्फत ह्वाइट च्यापलस्थित रोयल लण्डन अस्पताल पुर्याएका उनलाई केही महिनासम्म लण्डनमै राखेर उपचार गरियो । केही महिना अघि मात्र उनलाई नेपाल लगिएको थियो ।

उनी घाइते भएपछि लामो समयसम्म कोमामा रहेका थिए । काफ्लेको अवस्थामा सामान्य सुधार भएपनि उनी अहिलेसम्म समेत आफै उठबस गर्न सक्ने अवस्थामा थिएनन् ।

संघसंस्थाहरुद्वारा दुःख व्यक्त

काफ्लेको निधन भएको प्रति विभिन्न संघसंस्थाहरुले दुःख व्यक्त गरेका छन् । लण्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र कंडेलले उनको निधनले मर्माहत भएको भन्दै एक विज्ञप्ती मार्फत दुःख व्यक्त गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, “गुल्मीको वामिटक्सार पुर्ख्यौली घर भएका हाल नारायणगढ निवासी, श्री पशुपति नाथ मन्दिरका ट्रष्टी तथा दैनिक पुजारी रहनु भएका, मन्दिर विकासको लागि ठूलो योगदान पुर्याउनु हुने र ६ महिना सम्म श्री पशुपतिनाथ मन्दिरलाई स्वयमसेवी रुपमा नियमित सेवा प्रदान गर्ने प्रतिबध्दता गरि कार्यरत पण्डित श्री दधिराम काफ्लेज्यु गत २०१९ अगष्ट २ का दिन मन्दिर जाने क्रममै दुर्घटना भई लामो समय सम्म उपचारार्थ रही अन्ततः सोही कारण आज वहाँको निधन भएको खबरले हामी स्तब्ध एबम् मर्माहत भएका छौं।सम्पुर्ण मन्दिर परिवार स्वर्गीय काफ्लेज्युको दिवङगत आत्मा को चिरशान्ती को कामना गर्दै यस अतुलनीय क्षतिको दुखद् घडीमा सोक सम्तप्त परिवारजन मा धैर्य धारण गर्ने शक्ती उनै देवादी देव श्री माहादेव ले प्रदान गरुन भन्ने कामना गर्दै सम्पुर्ण परिवारजनमा गहिरो समबेदना प्रकट गर्दछौं।”

यसैबिच मन्दिर व्यवस्थापन समितिकी सचिव कल्पना त्रिपाठीले मन्दिरका ट्रष्टी तथा मन्दिर विकासको लागि ठूलो योगदान पुर्याउनु हुने पण्डित श्री दधिराम काफ्लेज्युको असामयिक निधन भएको खबरले हामी पशुपतिनाथ मन्दिर ब्यबस्थापन समिति अत्यन्तै मर्माहत भएका छौं।यस दु:खद घडीमा पशुपतिनाथ मन्दिरको तर्फबाट मृतकको आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्द्छौं।शोक सन्तप्त परिवारमा गहिरो सहानुभुती का साथ धैर्य धारण गर्ने शक्ति मिलोस भनी हार्दिक समबेदना प्रकट गर्दछौं।

त्यसैगरी मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष डासु पाण्डे, मन्दिरका मूलगुरु ज्योतिष पण्डित निलहरि घिमिरेले पनि शोक प्रकट गर्दै बेलायतको नेपाली समुदाय र मन्दिरका लागि स्वर्गीय काफ्लेको योगदान स्मरणयोग्य रहने बताएका छन् । पशुपतिनाथ मन्दिरका ट्रष्टी तथा दैनिक पुजारी भएका मन्दिर विकासको लागि ठूलो योगदान पुर्याएका पण्डित दधिराम काफ्लेज्युको असामयिक निधन भएको खबरले पशुपतिनाथ मन्दिर ब्यबस्थापन समिति अत्यन्तै मर्माहत भएका भन्दै मन्दिर व्यवस्थापन समितिकी सचिव कल्पना त्रिपाठी दुःखद घडीमा मृतकको आत्माको चिर शान्तिको कामना गरिन् । त्यस्तै व्यवस्थापन समितिका पूर्वध्यक्षहरु, ट्रष्टी तथा पदाधिकारीहरुले पनि शोक व्यक्त गरेका छन् ।