नेपाल र अष्ट्रेलियावीच लगानी र व्यापार बढाउने उद्धेश्यसहित लगानी सम्मेलन सम्पन्न

तक्दीर अधिकारी
सिड्नी । अष्ट्रेलिया र नेपालवीच व्यापार प्रवद्र्धन, लगानी तथा साझेदारी सम्बन्धमा नेपाल–अष्ट्रेलिया लगानी सम्पन्न सम्पन्न गरिएको छ । अष्ट्रेलिया स्थित नेपाली राजदुतावासको आयोजनामा अनलाइनमार्फत लगानी सम्मेलन सम्पन्न गरिएको हो जसमा महाबाणिज्यदूतहरुले समन्वयकारी भूमिका निर्वाह गरेका थिए ।सम्मेलनमा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल, नेकपा नेता भीम रावल, नेपाल सरकारका सचिवद्वय चन्द्रकुमार घिमिरे, डा. बैकुण्ठ अर्याल, लगानी बोर्डका कार्यकारी अधिकृत सुशील भट्ट, कृषिविज्ञ डा. किशोर दहाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ सहित अस्ट्रेलियन राजनितीक दलका नेता तथा अष्ट्रेलियाका नामुक व्यवसायीहरुको सहभागिता रहेको थियो ।

नेपालमा लगानीको अवस्था, सरकार तथा स्थानीय उद्योग वाणिज्य महासंघले पु¥याउन सक्ने सहयोगबारे नेपालवाट कार्यपत्र प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा कार्यव्यस्तताको कारण उपस्थित हुन नसकेका अस्ट्रेलियाका अर्थमन्त्री साइमन बर्मिङ्घमले भिडियो सन्देश पठाउँदै नेपाल र अस्ट्रेलियावीचको सम्बन्ध अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिए । हाल अस्ट्रेलियनहरुले नेपालमा लगानीको अवसरहरु खोजिरहेका छन् । तर ट्रेड ग्यापको कारणले सुमस्या सिर्जना भएको भन्दै यसलाई कसरी कम गर्न सकिन्छ भन्ने बारेमा गहन छलफल भएको न्यू साउथ वेल्ल अवैतनिक दूतावासका महावाणिज्यदूत दिपक खड्काले जानकारी दिए । नेपालमा लगानी बढाउने कुरामा यस कार्यक्रम प्रभावकारी भएको र आगामी दिनमा दुई देशवीचमा व्यापार र लगानी बढ्ने विश्वास लिइएको उनले बताए ।

उक्त अवसरमा नेपालको पर्यटन क्षेत्रमा लगानी गरेकी मिस अष्ट्रेलियाका रविन सिमल्टनले नेपालमा लगाानीको अवसर रहेका बताउँदै अन्य लगानीकर्ताहरुलाई पनि खुलेर लगानी गर्न आग्रह गरिन् । विशेषगरी अष्ट्रेलियनहरुले विद्युत, पयर्टन, प्रविधि लगायतका क्षेत्रमा नेपालमा लगानी बढाउन इच्छुक रहेको पाइएको छ । जसको लागि यहाँको टोली नेपाल जाने भएको छ । नेपालमा प्रशस्त मात्रामा लगानीका क्षेत्रहरु रहेको छ भन्ने जानकारी दिन हरेक बर्ष यसप्रकारको आयोजना हुने गरेको छ ।