काठमाडौँ । वैकल्पिक राजनीतिक शक्तिका रुपमा चिनाउने विवेकशील नेपाली दल र साझा पार्टीबीच बिहीबार पुन एकीकरण भएको छ।
एकीकरण भएको पार्टीको नाम विवेकशील साझा पार्टी र चुनाव चिन्ह तराजु रहनेछ । साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका छन् ।
एकीकरण पछि पार्टीको अध्यक्षमा रविन्द्र मिश्र र संयोजकमा मिलन पाण्डे रहनुभएको छ। १३० सदस्यीय केन्द्रीय समिति बनाइने छ ।

जसमा दुबै पक्षबाट ६५/६५ जना रहनेछन् । केन्द्रीय समितिको पहिलो बैठकले दुबै पक्षबाट १३/१३ जना रहने गरी २६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ ।
एकीकृत पार्टीका संरचनाहरु गठन, पुनर्गठन र समायोजनको काम दुई महिनामा सक्ने र ६ महिनाभित्र एकता महाधिवेशन गर्ने एकता घोषणापत्रमा उल्लेख छ ।
दिउँसो तीन बजे जुम मार्फत एक कार्यक्रम गर्दै एकता घोषणा गरिएको हो ।
‘विवेकशील साझा पार्टीलाई सबैको प्रगतिशील पार्टी बनाउनेछौँ,’ जुममार्फत आयोजित विवेकशील नेपाली र साझा पार्टीको एकीकरण कार्यक्रममा संयोजक मिलन पाण्डेले भने ।
पार्टी संयोजक मिश्रले एकपटक गल्ती भइसकेको उल्लेख गर्दै अब विवेकशील साझालाई अटल रुपमा अघि बढाउने बताए ।
यसअघि ११ साउन २०७४ मा तत्कालीन दुई पार्टीको एकता भएको थियो भने २७ पुस २०७५ मा फुटेका थिए ।
दुबै पक्षको कमजोरीका कारण त्यसबेला राजनीतिक दुर्घटना भएको भन्दै अध्यक्ष मिश्र र संयोजक पाण्डेले अब विकेकशील साझा पार्टीलाई वैकल्पिक होइन, निर्विकल्प पार्टी बनाउने दाबी गरेका छन् ।






