शिब भण्डारी
लन्डन ।कोरोनाबाट विश्वव्यापी आक्रान्त र लकडाउन भइरहेका बेला बेलायतस्थित ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बिएनसीसी) ले कोरोना संकटबाट प्रभावित नेपाली व्यवसायीहरूलाई समर्थन, सहायता र गाइड गर्ने भएको छ ।
ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) का अध्यक्ष डा. कपिल रिजाल र कोषाध्यक्ष चार्टर्ड एकाउन्टेन्ट इन्द्र गिरीका अनुसार कोरोना भाइरस महामारीले बेलायतमा संचालित व्यवसायीहरु नराम्रोसंग प्रभावित भएका छन् । लन्डन नेपालन्युजसंग कुराकानी गर्दै डा. रिजालले बेलायत सरकारले कोरोना प्रभावित व्यवसायहरुलाई सहयोग गर्ने घोषणा गरि सकेको तर दुर्भाग्यवस कतिपय नेपाली व्यवसायीलाई त्यसबारे राम्रो जानकारी नभएको उनले बताए।
बीएनसीसीले भर्खरै एक न्युजलेटर प्रकाशित गरेको छ जसमा सरकारी घोषणा र व्यवसायीहरुले कसरी ती सहुलियत प्राप्त गर्न सक्छन् भन्ने खुलाइएको छ । “यी जानकारी हाम्रा सदस्यहरु लगायत सबै नेपाली समुदायलाई उपयोगी हुने हामीले विश्वास लिएका छौं,” डा. रिजालले भने उनले नेपाली विद्यार्थीहरु लगायत अन्य नेपाली समुदायले व्यहोर्नु परिरहेका समस्याका बारेमा लन्डनस्थित नेपाली दूतावासको ध्यानाकर्षण गराएको पनि जनाए ।
अध्यक्ष डा. रिजालले रोजगार गुमाएका तथा बस्नका लागि पनि समस्या भोगीरहेका नेपाली विद्यार्थीहरुलाई सघाउन आफ्नो संस्थाले अरु नेपाली संस्थाहरुसंग सहकार्य गर्न खोजिरहेको पनि जनाए । “हामीलाई विश्वास छ स्थिति सामान्य बनेपछि उनीहरुले फेरी रोजगारी पाउने छन्,” उनले भने अहिले ब्रिटिश सरकारले घोषणा गरेको नियम अनुसार आफुहरुले प्रत्यक्ष भेटघाट वा नेटवर्किङ्ग कार्यक्रम गर्न नसकेको यद्यपि हामीले सामाजिक संजाल तथा अन्य डिजिटल माध्यमहरुबाट नेपाली व्यवसायीहरुलाई सचेत बनाइ रहेको बीएनसीसीका कोषाध्यक्ष इन्द्र गिरीले बताए। “कैयौं नेपालीहरु होटेल, रेस्टुरेन्ट तथा रिटेल सेक्टरमा काम गर्नु हुन्छ, जसलाई कोरोना संकटले नराम्रोसंग प्रभावित गरेको छ । ब्रिटिश सरकारले नगद अनुदान, घर बहालमा लिनेहरुलाई सहयोग, बिजनेस रेटमा छुट, आफ्ना कर्मचारीहरुलाई तलब दिन रोजगारदाताहरुलाई अनुदान लगायतका सहुलियतहरु घोषणा गरेको छ । ती उपायहरुले यस्तो कठिन समयमा मर्कामा परेका व्यक्ति र व्यवसायहरुलाई ठूलो मदत पुग्न सक्छ,” उनले भने ।
अध्यक्ष डा. रिजालले कोरोना संकटका कारण गत महिना निर्धारित ब्रिटिश व्यवसायीहरुको नेपाल भ्रमण स्थगित गरिएको पनि जनाए। “स्थितिमा सुधार आए पछि फेरी उक्त भ्रमण आयोजन गर्ने हाम्रो योजना छ,” उनले भने। बीएनसीसीले बेलायतबाट नेपालमा व्यापार, पर्यटन तथा लगानी अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।






