अस्ट्रेलियन नेपाली जर्नालिस्ट एसोसिएसन द्वारा भत्र्सना

तक्दीर अधिकारी
 सिड्नी । अस्ट्रेलियन नेपाली जर्नालिस्ट एसोसिएसन (एन्जा) ले अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीको सन्दर्भमा दिएको अभिव्यक्तिपछि अस्ट्रेलियामा क्रियाशील र आफूलाई ठूलो सामाजिक संस्था दाबी गर्ने संस्थाका जिम्मेवार पदाधिकारी, मूल नेतृत्व, सञ्चारकर्मीसँग निकट रही काम गर्नुपर्ने प्रवक्ता, केही शैक्षिक व्यवसायी लगायतका व्यक्तिहरुले विभिन्न माध्यमबाट गरेको टिप्पर्णीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष हेमन्त काफ्ले र महासचिव चिरञ्जीवी देवकोटाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थी जसले कागजी सम्झौता नै गरेर अस्ट्रेलियामा पढाइ र अन्य खर्चको चाँजोपाँजो आफैले गर्ने ग्यारेन्टी गरेका कारण अहिले प्रत्यक्ष सहुलियत दिने योजना नभएको अभिव्यक्ति दिएका थिए ।
सोही अभिव्यक्तिले नेपालमा र अस्ट्रेलियामै पनि एक किसिमको अन्योलको अवस्था सिर्जना भएको सत्य हो ।’ सोही समाचारको विषयलाई लिएर आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्ने नियतले स्पष्ट पार्ने नाममा यहाँ कार्यरत पत्रकारहरुको अवमूल्यन गर्ने, उनीहरुको मानमर्दन गर्ने र सामाजिक सञ्जालहरुमा अपमान गर्नेजस्ता कार्य भएकोमा नेपाली पत्रकारहरुको साझा संगठन एन्जा त्यसको घोर भत्र्सना गर्दछ, विज्ञप्तिमा भनिएको छ ।