बेलायतमा गोर्खा सत्याग्रहले गर्यो बिशाल बिरोध प्रदर्शन (भिडियो सहित)

लन्डन । बेलायती सैनिक सरहको सम्मान र सेवा सुविधा लगायतका विभिन्न माग राख्दै आएका गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले शनिवार लण्डनमा व्यापक प्रदर्शन गरेका छन् ।

आफ्ना मागहरुमा बेलायत सरकारले मौनता देखाएपछि २१ जुलाई देखि रिले अनशनमा रहेका उनीहरुले शनिवार प्रधानमन्त्री कार्यालय अघि ठूलो प्रदर्शन गरेका हुन् । शनिवारको आन्दोलनमा बेलायती भेट्रान्स, सिख समुदाय र नेपाली समुदायको व्यापक समर्थन रहेको थियो ।

सत्याग्रहका प्रमुख संयोजक कृष्ण बहादुर राईले उक्त प्रदर्शनमा बोल्दै यूके सरकारले आफ्नो आन्दोलनको सुनुवाई नगरे अब भोक हड्तालको विकल्प नरहेको चेतावनी दिए । उनले भने, ‘हामीले बर्षाैदेखि हाम्रा मागहरु राख्दै आएका छौँ, अझै पनि सुनुवाई नभए हामी आन्दोलन चर्काउँदै जान्छौँ, भोक हड्तालमा उत्रन्छौँ, कुनै पनि हालतमा पछि हट्दैनौँ ।’ उनले आफूहरुको आन्दोलनमा सबै पक्षको ऐक्यबद्धता रहेको समेत बताए । उनले आदिवासी जनजाती महासंघ यूके, एनआरएनए यूकेसहित विभिन्न संघसंस्थाका प्रतिनिधि र व्यक्तिहरु आएर पनि आफ्नो आन्दोलनमा समर्थन र हौसला दिएको बताए ।

उक्त प्रदर्शनमा बेलायतका भेट्रानहरुको उल्लेखनीय रुपमा उपस्थिती रहेको थियो भने सञ्चालन धन बहादुर गुरुले गरेका थिए ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक  ज्ञानराज राईले बेलायत सरकारबाट अहिलेसम्म केही प्रतिक्रिया नआएको जनाउंदै यसपटक माग सम्बोधन नभएसम्म आन्दोलन गरिरहने बताए । राईले सरकारले माग सम्बोधन गर्न छोडेर रिले अनशन र भोक हड्ताल तोड्न बेलायत सरकारले दबाब दिएको बताए ।

उनीहरुले जुलाई १ मा अनशन शुरू गर्ने तयारी गरेका गोर्खाहरुले तीन हप्ता रोकेका थिए । तर सो अवधिमा पनि बेलायत सरकारले मौनता देखाएपछि २१ जुलाई देखि अनशनमा रहेका उनीहरुलाई उक्त आन्दोलनको कार्यक्रम रोक्न सरकारले दबाब दिएको निर्देशक ज्ञानराज राईले जानकारी दिए ।

भूतपूर्व गोर्खाहरुले लण्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि १३ भिसीको नाममा २१ जुलाई देखि १३ दिने अनसनमा छन् ।

लामो समयदेखि आफ्ना मुद्दाहरुको विषयमा व्रिटिश सरकारलाई अवगत गराइरहेको भएपनि सरकारले आश्वासन मात्र दिएको तर कार्यन्वयन नगरेको भन्दै भूपू गोर्खाहरु आन्दोलनमा रहेका छन् । उनीहरुले ब्रिटिश सरकारसंग कूटनीतिक माध्यमद्वारा सम्पर्क गरी वार्ताको मिति तोक्न नेपाल सरकारसंग पनि माग गरेका छन्।

( पुरा भिडियो हेर्नुस )