दोलखा- दोलखाको सिमाङ्तकृत थामी समुदायको भाषा, रहनसहन र संस्कृतिमा पिएचडी गर्न आएको भन्दै झण्डै एक करोड ठगेर फरार भएका दीपक शर्मा रामेछापमा पक्राउ परेका छन् । उनी नक्कली डाक्टर बनेर विवाह गरेको आरोपमा पक्राउ परेका हुन् ।
रामेछापमा नक्कली विवाह गरेर घर भित्र्याएको भोलीपल्टबाटै शर्मा फरार भएका थिए । पछिल्लो समय ससुराली घुम्न आएका उनलाई माइती पक्षले पक्राउ गरी प्रहरीकोमा बुझाएका छन् ।
यसअघि दोलखाको थामी समुदायको बस्ती रहेको सुस्पाक्षमावती, सुन्द्रावती, लापिलाङ, आलम्पुसहित रामेछापका केही गाविसबाट कतिलाई फ्रान्स लगिदिने त कतिलाई रोजगारीका नाममा लाखौ ठगी गरी फरार भएका थिए ।
उनको पुख्यौली घर तेह्रथुम पोठाक–३, लवरी हो । उनको नाम दिपकराज दहाल हो ।
गाउँमा आफ्नै भाषा र संस्कृतिका बारेमा पिएचडी गर्न आएको भन्दै वास दिएका थामीदेखि अन्य समुदायलाई प्रलोभनमा पारेर कतिलाई फ्रान्स लगिदिने सपना, कतिलाई रोजगारी र विकास ल्याइदिने भन्दै ठगी गरेर उनी फरार भएका थिए ।
शुरुमा थामी समुदायकै एक गैरसरकारी संस्थालाई सामान्य सहयोग गरी काम गर्न आएको देखाई रोजगारी समेत वाँडेर उनले ठगी गर्न थालेका थिए । सापटी र कतिलाई काम गरिदिन्छु भन्दै दोलखाको उत्तरका चार गाविसका सयभन्दा बढिसँग २० हजार देखि ४ लाख र रामेछापको चुचुरेमा समेत रकम उठाएका शर्मा गाउँ नफर्केपछि स्थानीय गाउँलेले ठगिएको थाहा पाएर प्रहरीलाई जानकारी गराएका थिए ।






