सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ विजयी भएका छन् ।
शनिवार अनलाइन मतदान मार्फत भएको निर्वाचनमा उनले ८५८६ मतका साथ जित हासिल गरेका हुन् । उनले आफ्ना प्रतिस्पर्धी डा. ज्ञानेन्द्र रेग्मीलाई करिब दोब्बर मतले पछि पारेका हुन् । डा. रेग्मीले ४८७९ मत प्राप्त गरे ।
१५ हजार २९८ मतदाता रहेको अष्ट्रेलियामा तोकिएको समयभित्र १४ हजार १ सय ९७ मत खसेको थियो ।
बिहान ७ देखि बेलुका ७ बजेसम्म अनलाईनबाट मतदान गर्न पाइने व्यवस्था गरिएको थियो । क्विन्सल्याण्ड, नर्दन टेरीछोरी र वेस्टर्न अष्ट्रेदिलयामा भने केही प्राविधिक त्रुटीको कारण मतदान केही ढिला शुरू भएको थियो ।
क्विन्सल्याण्डमा समय बढाएर ९ बजेसम्म, नर्दन टेरिटोरीमा साँढे ८ बजेसम्म मतदान गर्न पाइने व्यवस्था भएको थियो ।
अष्ट्रेलियाको नेपाली समुदायमा चर्चाको शिखरमा रहने गुरुङ २०१७१७–१९ न्यू साउथ वेल्स राज्य समिति संयोजक र २०१९ – २१ एनआरएनए अष्ट्रेलियाको प्रबक्त्ता रहेका थिए ।
कोभिड महामारीले अष्ट्रेलियाको नेपाली क्षेत्रमा परेको प्रभाव न्यूनिकरण र पुनरुत्थानलाई प्रमुख चुनावी एजेन्डा बनाएका उनले कोभिड १९ महामारीविरुद्ध लड्न कार्यदल बनाउने, संघीय तथा प्रदेश सरकारहरुसँग समन्वय र सहजीकरण गरी स्वास्थ्य क्षेत्रको उत्थानको काम गर्ने, कोभिड १९ सहयोग, प्रतिक्रिया, रिकभरी र सरकारी सूचनाहरुबारे जानकारी गराउन ‘इन्फरमेशन हब’ सञ्चालन गर्ने र कोभिडको कारण कमजोर अवस्थामा रहेका नेपालीहरुलाई राहत वितरण गर्ने एजेन्डा अघि सारेका छन् ।
त्यस्तै संस्थाको आर्थिक समृद्धि गर्ने, आर्थिक पारदर्शीता कायम गर्ने र सचिवालय स्थापना गरी एनआरएनएको संस्थागत विकास गर्ने, अष्ट्रेलियाको समुदायमा नेपालीहरुको बढी भन्दा बढी सहभागिता गराउनको निम्ती विभिन्न कार्यक्रम र सहजीकरण गर्ने, एनआरएनए फाउन्डेशनहरु आधार तथा नितीलाई सबल बनाउँदै परोपकारी प्रोजेक्टहरु सञ्चालन गर्ने, आर्थिक समृद्धि गर्ने उनको योजना छ ।
आईसीसीसँग समन्वय गर्ने, नेपाल र अष्ट्रेलिया दुवै देशको नागरिकताकाको विषयमा सरकारसँग लविङ गर्ने, यहाँ आउन चाहने विद्यार्थीहरुको निम्ती प्रक्रिया सहज र सजिलो बनाउने लगायतका प्रतिबद्धताहरु उनले गरेका छन् ।






