तास्मनिया । नेपाली सोसाइटी अफ तास्मानियाले आयोजना गरेको २ दिने दशैँ कप फुटबल प्रतियोगिता आइतबार सम्पन्न भएको छ । सात समूहको सहभागिता रहेको प्रतियोगितामा एनएपफ सिटीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै होबार्टको बिकास्ट टीमले उपाधि जित्न सफल भएको छ ।
उक्त क्लबले ट्रफिसहित पुरस्कार स्वरूप नगद १५०० डलर प्राप्त गर्यो । निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलको निर्धारित समयमा एक एक गोलको बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआटबाट उपाधिको छिनोफानो भएको दशैं कपमा द्धितिय बनेको एनएफसिटीले ट्रफीसहित १००० डलर पुरस्कार प्राप्त गर्न सफल भएको छ ।
त्यसैगरी, खुकुरी ब्लुलाई हराउँदै तेश्रो बनेको मार्फा एफसीले ट्रफीसहित ५०० डलर पुरस्कार स्वरूप पाएको थियो ।
नेपाली तास्मानिया स्पोर्ट एसोसियसन अष्ट्रेलिया (एनटिएसए) र अष्ट्रेलियन नेपाली फुटबल एसोसियसन (एन्फा)को सहकार्यमा भएको खेलको उद्घाटन खेल होबार्टमा रहेका महिलाहरूबीच भएको थियो ।
सोही प्रतियोगितामा आइतबार बिजनेश अर्गनाइजेशन र सोसल अर्गनाइजेशनबिच पनि प्रतिस्पर्धा भएको थियो । जसमा सोसल अर्गनाइजेशन २–० गोल अन्तरले विजयी भयो । होबार्टमा रहेका उद्योगहरू र तास्मानियामा रहेका संघसंस्थाहरूबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न २ संस्थाबिच मैत्रिपूर्ण खेल खेलाइएको थियो ।
प्रतियोगिताको उद्घाटन तास्मानिया राज्यकी महान्यायाधिवक्तासमेत रहेकी न्याय, कार्यस्थल सुरक्षा तथा कलामन्त्री एलिस आर्चरले गरेकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोनाका कारण केही टाढिएको व्यवहारलाई जोड्न खेल महत्वपूर्ण हुने बताइन् । उनले यो खेल आयोजना गरेकोमा नेपाली सोसाइटी अफ तास्मानियालाई धन्यवाद पनि दिएकी थिइन् ।
संस्थाका अध्यक्ष खगेन्द्र सत्यालका अनुसार अक्टोबर ९ र १० तारिखका दिन भएको खेलमा उल्लेख्य संख्यामा दर्शकको उपस्थिति रहेको थियो । उक्त खेल तास्मानिया फुटबल फेडेरेशनका रेफ्रीद्वारा खेलाइएको थियो । खेलको व्यवस्थापकीय पक्ष एकदम चुस्त भएको आयोजक पक्षले दाबी गरेको छ ।
खेलको दोश्रो दिन दुर्गा पुजा समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सत्यालले नेपाली समुदायले कार्यक्रम र खेलप्रति देखाएको सद्भावको प्रशंसा गरेका थिए ।
यस प्रतियोगितामा उत्कृष्ट गोलकिपर च्याम्पियन टोलीका बिनोद कार्की भएका थिए । सबैभन्दा धेरै गोल गर्ने खेलाडी भने एनएफ सिटीका सबिन केसी भए । उपाधिमा कब्जा जमाएको बिकास्टले फेयर प्लेको अवार्ड पनि हात पार्यो । त्यस्तै, म्यान अफ दि सिरिजको उपाधि एनएफ सिटीका नोरसिंह स्याङ्देनले पाएका थिए ।
एनआरएनए तास्मानिया, तास्मानिया नेपाली क्रिकेट एसोसियसन, होबार्ट बोइज र विनर सर्कलले पनि यस प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेका थिए ।
आइतबार खेल मैदानमा पण्डित तुलसीराम भण्डारीद्वारा दूर्गा पूजा गरिएको थियो । नेपाली सोसाइटी अफ तास्मानियाले कला, संस्कृति र धर्मलाई जगेर्ना गर्ने र दोश्रो पुस्तालाई पनि कला, साहित्य, धर्म र संस्कृति चिनाउने कार्यसँगै यस वर्ष पहिलो पटक दशैँ कप फुटबल प्रतियोगिता आयोजना गरेको हो । यस प्रतियोगितापछि नेपाली सोसाइटी अफ तास्मानियाको चर्चा सुरू भएको छ ।
खेल हेर्न पुगेका दर्शकहरूले नेपाली भूमिमै खेल आयोजना भएको जस्तो अनुभव गरेको प्रतिक्रिया दिएका थिए । यस प्रतियोगिता केजिभी फुटबल मैदानमा भएको थियो । दशैं पनि मनाउने र नेपालीहरुवीच एकता कायम गर्ने उद्धेश्यले पनि प्रतियोगिता गरिएको आयोजकको भनाइ छ ।
तास्मानियामा हाल कोभिडका कुनै पनि विरामी छैनन् । तरपनि सुरक्षा मापदण्ड अपनाएर कार्यक्रम सञ्चालन गरिएको आयोजकको दाबी छ ।







