एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा ३ बजेसम्म १० हजार बढी मत खस्यो, कुन प्रदेशमा कति ?

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको नयाँ नेतृत्व चयनको लागि विहान सात बजेबाट निर्वाचन जारी छ ।

आगामी २०२१–२०२३ को लागि नयाँ नेतृत्वका लागि शनिबार विभिन्न तहका २५२ पदका लागि मतदान चलिरहेको हो । जसमा ४४५ जना उम्मेदवार मैदानमा रहेका छन् भने करिब १६ हजार जनाले मतदानमा सहभागिता जनाउँदैछन् ।

निर्वाचन अष्ट्रेलियाका पूर्वीय समयानुसार विहान सात बजेदेखि शुरू भएको मतदान साँझ ७ बजेसम्म चल्ने प्रमुख निर्वाचन आयुक्त सुरेन्द्र सिग्देलले बताए ।

दिउँसो तीन बजेसम्म एसीटीमा १२७६ मतदाता मध्ये ७९९ जनाले मतदान गरेका छन् भने साउथ अष्ट्रेलियामा १८४५ मध्ये १२८८ जनाले भोट दिएका छन् ।

न्यु साउथ वेल्समा ५७५४ जना मा ३८४१ जनाले भोट दिए भने तास्मानियामा १२५७ जनामध्ये ९७५ जनाले मताधिकार प्रयोग गरेका छन् ।

त्यस्तै नर्दन टेरीटोरीमा १०५९ जनामा ७६८ जनाले भोट दिए भने कुल मतदाता २०३३ रहेको भिक्टोरियामा १२५६ जनाले मत खसाले ।
क्विन्सल्याण्डमा १३३१ जनामा ८९३ जनाले भोट दिए भने वेस्टर्न अष्ट्रेलियामा ७४३ जनामा ३९६ जनाले भोेट दिएका छन् ।

हालसम्म कुल १५२९८ मतदाता मध्ये १० हजार २ सय १६ जनाले मत खसालेका छन् । जुनज हालसम्म ६६.७८ प्रतिशत हो ।

क्विनसल्याण्डमा साढे दुई घण्टा ढिलोगरी मतदान शुरू भएको थियो । जसको कारण मतपरिणाम सार्वजनिक गर्न पनि दुई घण्टा ढिला हुने भएको छ ।

पत्रकार सम्मेलन गर्दै प्रमुख आयुक्त सिग्देलले सामान्य टेक्निकल समस्या भएको कारण दुई घण्टा ढिला गरी मतदान शुरू भएको बताए । उनले मतपरिणाम साढे ११ बजेपछि मात्रै सार्वजनिक गर्न सकिने बताए । यसअघि १० बजे नतिजा सार्वजनिक गर्नेगरी तयारी गरिएको थियो ।

अध्यक्ष पदमा २ जनाले उम्मेद्वारी घोषणा गरेका छन् । निवर्तमान कार्यसमितिका महासचिव डा. ज्ञानेन्द्र रेग्मी र प्रवक्ता नन्द गुरुङले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

सबै उम्मेद्वारहरुले आफ्ना आफ्ना एजेन्डा तथा प्रतिबद्धताहरु सार्वजनिक गरी चुनावी अभियानमा होमिएका थिए ।

यसपटक एनआरएनएको चुनाव अनलाइन मार्फत गरिएको छ । कोभिड १९ महामारी बढ्दै गएको र अष्ट्रेलियाका विभिन्न राज्यहरुमा कडा प्रतिबन्धहरु लगाइएको कारण पनि अनलाइन मतदानको व्यवस्था गरिएको प्रमुख आयुक्त सिग्देलले बताए ।